नवलपुर बस दुर्घटनाका मृतकको सनाखत

दुर्घटनामा परेको बसमा ३५ जना यात्रु सवार थिए। बस सडकबाट झण्डै १०० मिटर तल खसेको छ।

काठमाडौँ- नवलपुर (पूर्वी नवलपरासी)मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको सनाखत भएको छ। 

घटनामा परी मृत्यु हुनेहरूमा पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जा गल्याङ-१ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझी रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्। बसमा ३५ जना सवार रहेका थिए। घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

पाल्पाको रम्भा गाउँपालिकाको हुगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना  ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे बुलिङ्गटार-२ मा दुर्घटना भएको हो।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ।