मिटरब्याज पीडित काठमाडौँ आइपुग्नु संघीयतामाथि नै प्रश्न : बालेन

पीडितलाई काठमाडौँमा बस्ने शिविर खोज्नभन्दा आज नै माग सम्बोधन गरेर बेलुका घर फर्किने वातावरण बनाउन मेयर शाहले माग गरेका छन्।

काठमाडौँ– काठमाडौँ महानगरका मेयर बालेन शाहले मिटरब्याज पीडितहरू न्यायका लागि काठमाडौँ आइपुग्नुले संघीयतामाथि नै प्रश्नचिन्ह खडा भएको बताएका छन्।

स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर पीडितहरू काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको उनको भनाइ छ।

“स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर पीडितहरू काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ। गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ,” मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, “यो अवस्थामा संघीय सरकारले यथाशिघ्र चासो दिनुपर्ने हो। उहाँहरूको माग मन्त्रिपरिषद्ले सम्बोधन गर्नुपर्छ।”

पीडितलाई काठमाडौँमा बस्ने शिविर खोज्नभन्दा आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउन उनले माग गरे।

खुलामञ्च निषेधित क्षेत्र नभएको र नहुने मेयर शाहको भानाइ छ।  “तर, माइतीघरमा आन्दोलन गर्नेका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएका तयारीहरू शंकास्पद छन्,” उनले भनेका छन्, “शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन सकेसम्म चाँडो न्यायको अनुभूति दिलाउनुपर्ने हो।”

यस्ता समस्या स्थानीय सरकारबाट नै समाधान हुनुपर्ने शाहले बताएका छन्।