प्रत्यक्षतर्फ १०० सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

एमाले अध्यक्ष ओली आगामी निर्वाचनमा १०० सिट जित्ने बताए। उनले समानुपातिकमा ५० सिट ल्याएर बहुमतको सरकार बनाउने दाबी गरे।

फाइल तस्वीर

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन्। उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे।

शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली शनिबार दिनभर झापा-५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिए।

अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो। अहिले हामी एक्लै १५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि।”

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। झापा-३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिएका छन्। उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गरे।

‘रेलको मुआब्जा समस्या समाधान हुन्छ’
यसैबीच एमाले अध्यक्ष ओलीले रेलको मुआब्जा समस्या समाधान हुने बताए। झापाको दमकमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पूर्व–पश्चिम रेल आयोजनाका लागि रोक्का गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले भने, “मुआब्जा दिएर काम शुरु गर्ने बेलामा सरकार परिवर्तनले असर गर्‍यो, समस्या समाधान गरिने छ।” एमालेसहितको गठबन्धनले देश विकासको मुहार फेर्ने अध्यक्ष ओलीले बताए। “आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिन्छौँ,” उनले भने।