युक्रेनले पश्चिमा राष्ट्रहरूसँग थप सैन्य सहयोगका लागि अपिल गरेलगत्तै रुसी राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्। हतियार परिचालनको नियन्त्रण भने मस्कोमै सीमित गर्ने उनको भनाइ थियो। साथै, रुसी कदमले आणविक सम्झौता उल्लंघन नहुने पनि पुटिनले बताए।
“अमेरिकाले पनि आफ्ना आणविक हतियार अन्यत्र तैनाथ गरेको छ र हामी पनि त्यसै गर्न लागेका हौँ,” पुटिनलाई उद्धृ गर्दै रुसी सरकारी मिडियाले उल्लेख गरेको छ।
बेलारुसका नेता अक्लेक्जेन्डर लुकाशेन्कोले सामरिक हतियार तैनाथीको विषय लामो समयदेखि उठाइरहेको बताउँदै पुटिनले रुसी सरकारी टेलिभिजनसँगको कुराकानीमा भनेका छन्, “यो असामान्य विषय होइन। अमेरिकाले दशकौँदेखि यस्तो कार्य गर्दै आइरहेको छ। आफ्ना मित्र राष्ट्रहरूको भूमिमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ।”
आणविक हतियार तैनाथका लागि रुसले बेलारुसको राजधानी मिन्स्कमा एक विशेष भण्डारन केन्द्र बनाइरहेको छ। यो काम आगामी जुलाई १ सम्म पूरा हुने पुटिनले बताएका छन्।
आणविक हतियार प्रहार गर्न प्रयोग हुने खालको इस्कन्दर रणनीतिक क्षेप्यास्त्र प्रणाली बेलारुसतर्फ पठाइसकिएको पनि पुटिनले बताए। यद्यपि, हतियारहरूको नियन्त्रण मस्कोबाहिर नरहने पुटिनको भनाइ छ।
अमेरिकाले भने रुसले आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेको भन्नेमा विश्वास नलागेको जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आणविक हतियारसँग जोडिएको आफ्नो रणनीति बदल्ने कुनै कारण नदेखिएको पनि स्पष्ट पारेको छ। “हामी नेटो सदस्य देशहरूको सामूहिक रक्षाका लागि एकताबद्ध भएर उभिनेमा प्रतिबद्ध छौँ,” विज्ञप्तिमा भनिएको छ।
मस्कोले सन् ९० दशकको मध्यपछि पहिलोपटक मुलुकबाहिर आणविक हतियार राख्न लागेको हो। सन् १९९१ मा सोभियत संघ भंग भएपछि नयाँ स्वतन्त्र देशहरू रुस, युक्रेन, बेलारुस र काजकिस्तानमा राखिएका सबै 'न्युक्लियर वारहेड'लाई रुसले सन् १९९६ सम्म मस्कोमै स्थानान्तरण गरिसकेको थियो। त्यसपछि पहिलो पटक बेलारुसमा सामरिक हतियार तैनाथ गर्न लागेको हो।
युक्रेनसहित नेटो सदस्य राष्ट्रहरू पोल्यान्ड, लाट्भिया र लिथुवानियासँग सीमाना जोडिएको देश बेलारुस रुस समर्थित राष्ट्र हो। साथै, युक्रेनमा रुसी आक्रमणलाई पनि समर्थन गरिरहेको छ।
यता, चिनियाँ राष्ट्रपति सी चिनफिङले रुस भ्रमण गरेको केही दिनपछि नै रुसले आफ्नो रणनीतिक आणविक हतियार बेलारुसमा सार्न लागेको जानकारी गराएको हो।
“सबै आणविक शक्तिहरूले आफ्ना आणविक हतियारहरूलाई राष्ट्रिय भूमिबाहिर तैनाथ गर्नुहुँदैन र विदेशमा तैनाथ भएका सबै आणविक हतियारहरू फिर्ता गरिनुपर्छ,” भन्दै रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीले संयुक्त विज्ञप्ति जारी गरेका थिए।
तर केही दिनमै सम्झौताविपरीत रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्न लागेको बताएको हो। रुसबारे बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार ओलेक्सिये डानिलोभ भन्छन्, "क्रेमलिनले बेलारुसलाई 'न्युक्लियर होस्टेज' बनाएको छ र यस कदमले बेलारुसभित्र आन्तरिक अस्थिरता निम्त्याउनेछ। साथै, देशमा रुसविरोधी भावना बढ्ने सम्भावना छ।"
युक्रेनले पश्चिमा मित्रराष्ट्रहरूसँग थप सैन्य सहयोगका लागि अपिल गरेलगत्तै रुसी राष्ट्रपति पुटिनले आणविक हतियार मुलुकबाहिर तैनाथ गर्ने बताएका हुन्। साथै, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनलाई हतियार उपलब्ध गराइरहेको विषयलाई पनि पुटिनले आलोचना गरेका छन्।
अघिल्लो साता मात्रै १८ वटा देशले युद्धग्रस्त युक्रेनलाई अर्को वर्षसम्म कम्तिमा १० लाखको संख्यामा गोलाबारुद उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यद्यपि, थप गोलाबारुद उपलब्ध नभएसम्म युक्रेनको पूर्वी क्षेत्रमा रुससँग प्रतिकार गर्न नसकिने जापानी पत्रिका योमिउरी शीम्बुनसँगको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
