भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुत गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।

भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय भएको छ।

गुजरातको सुरतस्थित सेसन अदालतले उनलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ। 

उनलाई एउटा चुनाव र्‍यालीको दौरान ‘सबै चोरहरूको थर मोदी किन हुन्छ’ भन्ने बयानका आधारमा इन्डियन पिनल कोड (आईपीसी) को धारा ४९९ र ५०० बमोजिम दोषी ठहर गर्दै सजाय सुनाएको छ। 

दोषी ठहर गरेको २७ मिनेटपछि अदालतले गान्धीलाई २ वर्षको जेल सजाय र १५ हजार जरिबानाको फैसला समेत सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई अदालतले ३० दिनको जमानत दिएको छ। 

सन् २०१९ मा अप्रिल १३ मा गान्धीले कर्नाटकको कोलारमा भएको चुनावी र्‍यालीका क्रममा ‘नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदीको थर एउटै किन होला? सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भनेका थिए। उनको यही अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका सांसद तथा पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए।

अदालतको सुनुवाइका लागि गान्धी आजै दिल्लीबाट सुरत गएका थिए। ३० दिने जमानतको समयमा उनले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्। यसबीचमा उनले स्थायी रूपमा जमानतका लागि समेत आवेदन दिन सक्नेछन्।