बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।
बझाङ– बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन्, साइपालका बलौडी र धुली। सेतीको मुहान नजिकै वारिपारि रहेका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ।
नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ। साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा। उनले ६८ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन्।
शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई धुलीमा पुगेर नागरिकता दियो। बोल्न नसक्ने तथा सुस्त मनस्थितिकी केउडीलाई नागरिकता दिन्छन् या दिँदैनन् गाउँमा कसैलाई थाहा भएन। “नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन”, उनका भाइ गोमाले भने, “कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन), सबैले पोर परार (केही वर्षअघि)मात्रै नागरिकता लिएका हुन्।”
गोमा पनि नागरिकता हुँदा–नहुँदाको अर्थ देख्दैनन्। “डेढ दशकअघि नागरिकता लिएको हुँ,” उनले भने, “यो कतै काम लागेको छैन। जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु। यसको अर्थ पनि बुझेको छैन।” साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि थिए।
“अहिले घरमा दिदीभाइमात्रै रहेछन्,” उनले भने, “आयस्रोत र सहाराविहीन दिदी भाइलाई पालिकाबाट अब एकल पुरुष र वृद्धाभत्ता दिने तयारी गरेका छौँ।” बलौडीकी खिन्तुरी बोहरा ५१ वर्ष पुगिन्। वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो।
मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन। जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते। “शनिबार नागरिकता दिन धुली माविमा ल्याउनु भनेका थियौँ,” गाउँपालिका अध्यक्ष मानवीर बोहराले भने, “खिन्तुरी धुली माविबाट भाग्नुभएको रहे । पछि आफन्तले खोजेर ल्याए। रुन थाल्नुभयो। सबैले सम्झायौँ र नागरिकता हातमा थमायौँ। एक हजार १२ सय रुपैयाँ पनि दियौँ।”
खिन्तुरीले भने पैसाको कुनै मतलब गरिनन्। “उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ। त्यसको आवश्यकताबारे झन् के थाहा हुनुरु” अध्यक्ष बोहराले भने। बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग गर्न पाएका छैनन्। उनीहरूका लागि धुली, बलौडी, न्यूना नै संसार छ।
राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार–व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता। नागरिकताविहीनले भने केही गर्न सक्दैन।
“धुली, बलौडीमा धेरैले नागरिकताको महत्त्वबारे बुझेकै रहेनछन्,” प्रजिअ पाण्डेयले भने, “खिन्तुरी र केउडीले जीवनको उत्तरार्द्धमा भए पनि नागरिकता प्राप्त गर्नुभयो। अब यसको महत्त्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ।” नागरिकता भएपछि राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए।
“राज्यको उपस्थिति नभए जनतामा चेतना पनि उब्जँदैन,” प्रजिअ पाण्डेयले भने, “वृद्धाभत्ता खाने उमेरमा समेत नागरिकता पाएका छैनन् भने सुनेपछि जसरी नै साइपाल पुग्ने तयारीका साथ गएका हौँ।” खिन्तुरी र केउडीलाई नागरिकता दिइरहँदा कार्यक्रम भइरहेको मञ्चको पछाडिपट्टि दर्जन बढी महिला बसेका थिए।
नागरिकताको महत्त्व, सेवा सुविधाबारे प्रजिअ पाण्डेयले सुनाएपछि ती महिला कानेखुसी गर्न थाले। उनीहरूले पनि नागरिकता नलिएको पाइयो। ४५–४५ वर्षका महिलाले नागरिकता नपाएको थाहा पाएपछि वडा कार्यालयमा सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियामा लाग्न प्रजिअले सुझाव दिए। “गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो,” पाण्डेयले भने, “पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन। इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन। त्यही भएर जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौँ।”
नेपालको संविधानको भाग २ को धारा १० को उपधारा १ मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन,’ भनिएको छ। धारा ११ को उपधारा २ मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने भनेको छ। तर साइपालका जनता र राज्यको दूरी झनै लामो भएको छ।
बाचुन्जेल स्वास्थ्य समस्या
साइपालमा बिरामी परेका मान्छेले चिकित्सकीय सेवा पाउन सक्दैनन्। अधिकांश गाउँमा नै जडीबुटीको भरमा छन्। सिटामोलको पहुँचमा समेत नभएकाले धामी झाँक्री, वैद्य, गाउँका मुखिया, प्रधानकै विश्वास गर्छन्।
धामी–झाँक्रीकै विश्वासले खिन्तुरी मानसिक बिरामी परेको स्थानीय बताउँछन्। खिन्तुरी जन्मेको १० वर्षपछि नै बिरामीले थला परेकी थिइन्। चिकित्सकीय उपचार नपाउँदा अहिलेसम्म उनको अवस्था फेरिएन। “सानातिना बिरामी त यता कति छन् कति,” स्थानीय रायम बोहराले भने, “जिल्ला अस्पताल पुग्न हाम्रो क्षमता छैन। गाउँका अस्पतालमा पनि सिटामोलबाहेक केही पाइँदैन। त्यो पनि धेरै टाढा छ।”
साविकको काँडा गाविस क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाविस हो। अहिले त्यो गाविस साइपाल गाउँपालिका भएको छ। साइपालले करिब आधा बझाङ ओगटेको छ। पाँच वडा रहेको पालिकामा एक गाउँबाट अर्को गाउँ पुग्नसमेत सात–घण्टासम्म समय लाग्ने गरेको बोहराले बताए।
यता गाउँपालिकाका अध्यक्ष मानविर बोहरा भने सबै प्रकारका स्वास्थ्य समस्या भएका बिरामीको शिविरमार्फत नै उपचार सम्भव हुने दाबी गर्छन्। “टाढाको ठाउँ भयो। स–साना बिरामी भएकाहरू वास्ता गर्दैनन्। ठूलो दुर्घटनामा परेका दुई–तीन जनालाई हेलिकोप्टर चार्टर गरेरसमेत उपचार गरेका छौँ,” उनले भने, “बढी बिरामी भएकालाई एक हप्ता लगाएर स्ट्रेचरमा सदरमुकामसम्म ल्याउनुपर्छ।”
सदरमुकाम आउन–जान २५ हजार
सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। गत वर्षयता भने तलकोट हुँदै पनाल्तसम्म जीप सडक बनेको हुँदा पैदलयात्रा दुई दिन घटेको छ।
जिल्ला सदरमुकाम पुग्न साइपालवासीले १० हजारभन्दा बढी खर्च गर्नुपर्छ। “राज्यले निःशुल्क दिने एउटा नागरिकता बनाउनका लागि धुली–बलौडीका मान्छेले २०–२५ हजारसम्म छुट्याउनुपर्छ,” अध्यक्ष बोहराले भने, “त्यति पैसा नबोके अलपत्र परिन्छ। बाटोमा खान, बस्न, आउन, जान धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति धेरै जना चासो देखाउँदैनन्।”
उनका अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशत नागरिकले नागरिकता पाएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
