चितवन ३ः मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन क्षेत्र नं ३ मा २०७४ सालको प्रतिनिधिसभातर्फ समानुपातिक र गएको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूको मतअनुसार कांग्रेस र एमाले पहिलो र दोस्रो बने पनि यी दुवै दलबाट आगामी निर्वाचनमा उम्मेदवार छैनन्।

डा.भोजराज अधिकारी, विक्रम पाण्डे, दिनेश कोइराला

भरतपुर- चितवन क्षेत्र नं ३ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन्। यसपटक पनि यी दुई दलका उम्मेदवार छैनन्। तर, कांग्रेस र एमाले समर्थक मतदाता सबैभन्दा बढी छन्।
 
यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले त्यतिबेला तेस्रो पार्टी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो। प्रचण्डसँग प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो। निर्वाचनमा दाहालले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए।
 
समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले २६ हजार १३७, एमालेले २४ हजार १५५, माओवादी केन्द्रले २२ हजार ९८८ र तत्कालीन राप्रपा (प्रजातान्त्रिक)ले पाँच हजार ६३३ मत पाएका थिए। यो मतलाई आधार मान्दा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रोमा माओवादी केन्द्र थिए। 

गत स्थानीय तहको चुनावमा यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीका २८ जना वडाध्यक्षका उम्मेदवारले ४५ हजार १७२ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षहरूले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले सात हजार ४५४ मत पाएका थिए। भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिकाका ११ वटा वडा यस क्षेत्रमा पर्छन्।

यसपटक निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई समर्थन गरेको छ। एमालेले भने कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको छ। यही क्षेत्रमा राप्रपाका नेता पाण्डे पुनः उम्मेदवार छन्। कांग्रेसकै असन्तुष्ट पक्षका जगन्नाथ पौडेल पनि उम्मेदवार छन्।
 
एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने ठूला दलले दुई पटकसम्म उम्मेदवारी नदिँदा कार्यकर्तामा उत्साह नरहेको बताउँछन्। निर्वाचनका माध्यमबाट नेतृत्वमा पुग्न क्षेत्र वा लिने दिने स्वाभाविक भए पनि दोस्रोपटक पनि छोड्दा भने शुभेच्छुकहरूमा निराशा रहेको उनको भनाइ छ। तर, नेतृत्वले भनेको ठाउँमा मतदान गराउने पार्टीको प्रयत्न रहेको उनी बताउँछन्। २०७४ सालमा आफ्नो पार्टीले दाहाललाई सहयोग गर्दा समानुपातिक मतसमेत कम आएको तर क्षेत्र नं ३ मा एमालेको बलियो पकड  रहेको न्यौपानेको दाबी छ।
 
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले  कार्यकर्तालाई सन्तुष्ट बनाउन अझै नसकिएको बताए। सो क्षेत्रको पहिलो पार्टी भएर पनि दुई पटक उम्मेदवार दिन नसक्दा नोक्सान भएको, तर पार्टीको निर्देशनलाई भने मान्नुपर्ने उनी बताउँछन्। 
 
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक लाख २५ हजार ८२३ मतमध्ये ७४ दशमलव ५६ प्रतिशत मत खसेको थियो। अहिले मतदाता सङ्ख्या बढेर एक लाख ४४ हजार २८२ पुगेको छ।