इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

प्रतिकात्मक तस्वीर

सुनसरी- इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए। 

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए। 

गम्भीर घाइते भएका तीनै जनालाई उपचारको लागि विराटनगरस्थित आर्य न्यूरो हस्पिटल लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।