नेपालले विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको छ। लिग–२ को अन्तिम खेलमा यूएईलाई डर्कवर्थ लुइस नियमका आधारमा पराजित गर्दै नेपालले टेस्ट राष्ट्रहरूसँग ओडीआई खेल्ने मौका सुनिश्चित गरेको हो।
काठमाडौँ– यूएईलाई डर्कवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गर्दै नेपाल सिधै क्रिकेट विश्वकप छनोटमा पुगेको छ। सन् २०२४ मा भारतमा हुने विश्वकपका लागि नेपालले अब टेस्ट राष्ट्रसमेत सम्मिलित छनोट प्रतियोगितामा भाग लिनेछ।
यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाउँदा कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रकाश नपुगेर खेल रोकिएको थियो। त्यसलगत्तै नेपाललाई विजयी घोषणा गरिएको हो।
लक्ष्य पछ्याउने क्रममा नेपालका लागि चार ब्याटरले अर्धशतक बनाए। भीम सार्कीले सर्वाधिक ६७ रन बनाए। ७६ बल खेलेका उनले नौ चौका प्रहार गरे। त्यसैगरी, आरिफ शेखले ६२ बलमा दुई चौकाको मद्दतमा ५२ रन बनाए। अर्धशतक पूरा गरेपछि विकेट गुमाएका कुशल भुर्तेलले चार छक्का र तीन चौका प्रहार गरे। उनले ३४ बल खेलेका थिए।

नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको थियो। नेपालको स्कोर १ रन हुँदा आसिफ शेख तेस्रो बलमा डक आउट भएका थिए। ६ रन बनाउँदा २ र ३७ रन बनाउँदा ३ विकेट गुमाएको नेपाललाई कुशल भुर्तेल र भीम सार्कीले ९८–४ को अवस्थामा पुर्याएका थिए।
पाँचौँ विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए। १८१ रनमा पाँचौ विकेट गुमाएको नेपालले २२५ रनमा छैटौँ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रनको साझेदारी गरेका थिए। डर्कवर्थमा पछि परेको अवस्थामा गुल्सनले ४२औँ ओभरमा तीन चौका र एक छक्कासहित २० रन बनाएपछि नेपालको जित सम्भव भएको हो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले आसिफ खानको आक्रामक शतकमा ३१० रन बनाउन ६ विकेट खर्च गरेको थियो। आसिफले ४२ बलमा १०१ रन बनाउँदा ११ छक्का र चार चौका प्रहार गरेका थिए। यूएईका लागि ओपनर ब्याटर मोहम्मद वासिमले ६३ र भृत्य अरविन्दले ९४ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए। सन्दीपले १० ओभरमा ८० रन दिँदा सोमपालले ९ ओभरमा ७४ रन दिएका थिए।
आईसीसीको नियमअनुसार लिग-२ को शीर्ष तीनमा रहने तीन टोलीले सिधै विश्वकप छनोट खेल्ने छन्। अन्य चार टोलीले भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ। यस खेलअघि नेपाल चौँथो र नामिबिया तेस्रो स्थानमा थिए। नेपालका लागि तेस्रो स्थानमा पुगेर विश्वकप छनोटमा स्थान बनाउन बिहीबारको खेल फाइनल सरह थियो।
अब नेपालले जिम्बाब्वेमा आगामी जुन–जुलाईमा हुने विश्वकप छनोट खेल्नेछ। उक्त प्रतियोगितामा लिग–२ बाट स्कटल्यान्ड र ओमान यसअघि नै छनोट भएका थिए। सुपर लिगबाट नेदरल्यान्ड, आयरल्यान्ड, जिम्बाब्वेले खेल्ने निश्चित भएको छ। दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजमध्ये थप दुई टिम क्वालिफायरमा झर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
