ठगी प्रकरणमा पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

ठगी प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

काठमाडौँ- अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिएको जानकारीअनुसार उनीहरूलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो। सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनीता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको बताए। सीआईबीले नै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो।

उनीहरूको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडितका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गरेका पाइएको छ। अभियुक्तहरूले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै रु ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ। ठगिनेमा धेरै अमेरिकी नागरिक छन् । 

उनीहरूले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरूलाई  लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए। अभियुक्तहरूले पीडितको बैंक खातामा पहुँच पुर्‍याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए। ठगीका २० आरोपीमध्ये १३ फरार छन्। उनीहरूका बारेमा खासै जानकारी नभए पनि खोजी भने जारी रहेको  प्रहरी उपरीक्षक थापाले बताए।