प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न सरकारले कानून बनाएर अघि बढ्ने बताएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुरू गर्ने विषयमा कानून बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे। उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकयता रहेको उल्लेख गरे। चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताउँदै प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिबद्धता गरे अनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे।
उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे।
उनले भने, “हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता छ। चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ।”
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पन दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए।
उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रूपमा राखेकाले चिनियाँ नागरिकहरू नेपाल भ्रमण गर्दा अर्थतन्त्र बिस्तार हुने विश्वास व्यक्त गरे। दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताउँदै उनले आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरू पहिचान गर्ने काममा लागेको पनि बताए। उनले आफूहरूले नेपालसँग स्वच्छ ऊर्जा, प्रविधि र विद्युत्का क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताए।
उनले भने, “चीन नेपालको राम्रो मित्र हो। विगत ६७ वर्षदेखि नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम रहेको छ। नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिइ बजारमा पहुँच बिस्तार गरेको छ। त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ साथै चीनले पर्यटकीय गन्तव्यस्थलको रूपमा नेपाललाई पनि समावेश गरेको छ। यसले पनि नेपालको अर्थतन्त्र थप बिस्तार हुनेछ साथै हामी नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरूको पहिचान गरिरहेका छौँ, स्वच्छ ऊर्जा, प्रविधि, विद्युत्का क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच रहेको छ।”
कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ। हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ। जलविद्युत, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग गर्ने हामीले एक किसिमको सोच बनाएका छौँ।”
राजदूत सङले नेपालीलाई चीन भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमा नाका खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल र चीनका व्यपारीहरूबीच सोमबारदेखि छलफल शुरू भएको हो। करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीबीच छलफल भएको हो। बैठकका लागि सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
