भारतले सडक खन्न विष्फोट गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दार्चुलामा बालकको मृत्यु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवनको मृत्युको बारेमा छानबिन गर्न र राहतका लागि पहल शुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

गुगल म्याप

काठमाडौँ- महाकाली पारि भारतले सडक कटानका क्रममा ब्लास्टिङ गर्दा उछिट्टिएर आएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको मृत्यु भएको छ। भारतको पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा चट्टान फुटाउन भारतले ब्लास्टिङ गराउँदा उछिट्टिएर आएको ढुङ्गाले लागेर दार्चुलाको व्याँस गाउँपालिका-२ तम्पाकुका ९ वर्षीय पवन महराको मृत्यु भएको हो।

महाकाली पारि पिथौरागढ हुँदै कैलाश मानसरोवर जाने सडकको स्तरोन्तिको काम भारत सरकारले गर्दै आइरहेको छ। ‘गर्ग एन्ड गर्ग’ कम्पनीले सडक निर्माणको काम गरिरहेको छ। त्यसैक्रममा शुक्रबार बिहान चट्टान फुटाउन विष्फोट गर्दा उछिट्टिएर आएको ढुङ्गा लागेर बालकको मृत्यु भएको दार्चुलाका डीएसपी तर्क पाण्डेले जानकारी दिए।

“ब्लास्टिङ गर्ने क्रममा ढुङ्गा लागेर सडकमा सुतिरहेका बालकको मृत्यु भएको हो,” उनले भने, “बाबु-आमा र छोरा-छोरीसहित सुतिरहेका थिए। छोराको मृत्यु भयो। छोरी सामान्य घाइते भएकी छन्।” उनका अनुसार पवन आमा-बुवा र बहिनीसँगै खर्कबाट घर फर्किँदै थिए। 

डीएसपी पाण्डेले घटनास्थलतर्फ प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइसकिएको जानकारी दिए। “त्यहाँ इन्सपेक्टरको टोली पुगिसकेको जानकारी आएको छ। फोन सम्पर्क नहुँदा अन्य जानकारी प्राप्त भएको छैन,” उनले उकालोसँग भने।

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवनको मृत्युको बारेमा छानबिन गर्न र राहतका लागि पहल शुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

उनले महाकाली पारि धार्चुलामा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएको र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।