करौडौँ खर्चिएर बनाएको शहीद पार्क झाडीमा परिणत

पार्कमा शुरुआती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायबाट के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्यांक कसैसँग छैन। केही व्यक्ति र समूहले पार्क देखाएर बजेट ल्याउने र खाने गरेको स्थानीयको आरोप छ। 

रौतहट– करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ। संरक्षण र प्रवर्द्धनको अभावमा शहीद स्मृति पार्क र त्यहाँका संरचना दिनानुदिन जीर्ण बन्दै गइरहेका हुन्।

वनटोल महिला सामुदायिक वनको करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ। पार्कका घुम्ने स्थानमा जताजतै फोहोर र झाडीले भरिँदा अहिले पर्यटकको आवागमन शून्यबराबर छ। 

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको पार्कमा पिकनिक खाने, घुम्ने पर्यटकका लागि मात्र नभई लोकमार्ग हुँदै यात्रा गर्नेका लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको स्थानीयको भनाइ छ। चन्द्रपुरका स्थानीयलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्त्वपूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्। 

उनका अनुसार जताजतै उम्रिएको घाँस र फोहोरले गर्दा अचेल कोही पनि पार्कमा जान चाहँदैनन्। उनका अनुसार स्थानीयले पार्कलाई पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आइरहेका छन्। तर, स्थानीय सरकार मौन रहेको छ। उनले स्थानीय सरकारले विगत ५ वर्षमा पार्कका लागि जम्मा ५ लाख रुपैयाँ बजेट छुट्याएको बताए।

सो पार्कमा हाल शहीद स्तम्भ, चारवटा पोखरी, चिल्ड्रेन पार्क, चौतारालगायतका संरचना छन्। पार्कभित्र रहेको पोखरी झाडीले पुरिएको छ। पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानीय बताउँछन्। 

निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ। पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ। तर, वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वनक्षेत्रमा पर्ने भएकाले आफूहरूको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गर्छ। वनटोल महिला सामुदायिक वनकी अध्यक्ष खड्ग बोम्जनले पार्क वनक्षेत्रमा पर्ने भएकाले सामुदायिक वनको स्वामित्व हुनुपर्ने बताइन्।

 

कोरोनाकालमा सो पार्कमा रहेका संरचनालाई थपघट गरेर आइसोलेसन निमार्ण गरिएको थियो। पार्कमा शुरुआती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायबाट के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्यांक कसैसँग छैन। केही व्यक्ति र समूहले पार्क देखाएर बजेट ल्याउने र खाने गरेको स्थानीयको आरोप छ। 

यता, स्थानीय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरूले त्यसमा चाहेर पनि केही गर्न नसक्ने बाध्यता रहेको बताउँछ। चन्द्रपुर-२ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनै पनि काम हुन नसकेको बताए।