निर्माण व्यवसायीले सम्झौता अनुरूप काम नगरे टुलुटुलु हेरेर बस्दिनँ : नारायणकाजी श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणका क्रममा हुने ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्। 

आइतबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले सम्झौता अनुरूपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने समेत बताए। 

मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँग ठेक्का रद्द गर्नसक्ने तर्फ पनि सचेत गराए। उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौता अनुरूप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए। 

उनले भने, “दश वर्षअघि पुलको बिड गरेर एउटा मात्रै पिल्लर खडा गरेर बस्न मिल्छ? राजधानीकै अगाडि यही टेकुमा एउटा पुल छ, जो मापदण्डसँग मेल खाँदैन। त्यसलाई बुझाउन खोज्न मिल्छ? सरकारले लिन मिल्छ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ। त्यो मिल्छ? मैले भनेको हामी सबै मिलेर गरौँ न। मलाई त अहिले निन्द्रा लाग्दैन।”

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताउँदै उनले निर्माण व्यवसायीहरूलाई आफ्नो निवासमा भेट्ने नगरेको बताए। 

उनले व्यवसायीहरूसँग मन्त्रालयमा सामूहिक रूपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे। मन्त्री र निर्माण व्यवसायी मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्न नहुने उनको भनाइ थियो। 

मन्त्री श्रेष्ठले आफूले कुनै पनि निर्माण व्यवसायी तथा पुँजीपतिसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च नलिएको समेत दाबी गरे।