अर्थतन्त्र संकटबाट सुधारतर्फ अग्रसर छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संकटतर्फ गइरहेको अर्थतन्त्रलाई सरकारले सुधारतर्फ अग्रसर गराएको बताएका छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्। 

आइतबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताएका हुन्। 

उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए। अनावश्यक खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उनले बताए। 

त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताए।

उनले भने, “हाम्रो छिमेकका केही मुलुकमा वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्था परेको बेला हामीसँग भने १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने वैदेशिक सञ्चिति रहेको छ। यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ।”

उनले अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रको सूचकमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए। 

प्रधानमन्त्री दाहालले सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन गर्दा निर्माण व्यवसायीको सहभागितालाई समेत सुनिश्चित गर्ने बताए। उनले सो कानून संशोधन गर्दा अन्य सरोकारवालालाई समेत समेट्ने घोषणा गरे।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीप्रति जनताको धेरै गुनासो रहेको भन्दै त्यसप्रति सरकार जानकार रहेको बताए। निर्माण व्यवसायीले जिम्मा लिएका काम जिम्मेवार र गम्भीर भएर सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।