जसपाबाट उपराष्ट्रपतिको आधिकारिक उम्मेदवारबारे आइतबार थाहा हुन्छ : प्रमीला यादव

जसपाका तर्फबाट उपराष्ट्रपतिमा मनोनयन दर्ता गरेकी प्रमीला यादवले आफ्नो पार्टीको दुईमध्ये आधिकारिक उम्मेदवार को रहने भन्ने आइतबार थाहा हुने बताएकी छन्।

काठमाडौँ सत्तागठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमीलाकुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को बन्ने भन्ने आइतबार थाहा हुने बताएकी छन्।

शनिबार उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपा नेता यादवले जसपाका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये को आधिकारिक उम्मेदवार बन्ने भन्ने आइतबार थाहा हुने बताएकी हुन्।  

जसपाबाट दुई जनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णय आफूले मान्ने उनको भनाइ छ। “मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो। हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी पर्‍यो,” उनले भनिन्, “पार्टीले अब निर्णय गर्छ। पार्टीको निर्णय म फलो गर्छु।”

उनले उपराष्ट्रपतिको निर्वाचन जित्नेमा आफू विश्वस्त रहेको बताइन्। शनिबार भएको उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा जसपाका तर्फबाट रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दिएका छन्।

सत्तागठबन्धनलाई समर्थन गरेको जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। सत्तागठबन्धन समर्थित दलहरूबाट उपराष्ट्रपति निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको हो। नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।