उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले मनोनयन दर्ता गराएकी हुन्।

काठमाडौँ– नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन्।  

संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले मनोनयन दर्ता गराएकी हुन्। शाक्यको प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट रहेका छन्।

यस्तै समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल छन्। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ। उपराष्ट्रपतिका लागि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। 

यसअघि शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन्।