राष्ट्रपतिका रूपमा सीको तेस्रो कार्यकाल : यस्ता छन् चुनौती

तेस्रो कार्यकाल सम्हाल्नुअघि सी चिनफिङले चीनले निजी क्षेत्रको गुणस्तर बढाएर अर्थतन्त्रलाई प्राथमिकता दिने बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त भएका छन्। ६९ वर्षीय सीले आगामी पाँच वर्ष चीनको नेतृत्व सम्हाल्नेछन्। चिनियाँ राष्ट्रपति सी २० लाख सदस्य भएको पिपुल्स लिबरेस आर्मीको कमान्डरका साथै राष्ट्रपतिका रूपमा समेत सर्वसम्मत चुनिएका छन्।

दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाइने व्यवस्था हटाएर चीनले सन् २०१८ मा राष्ट्रपतिको कार्यकालको सीमा हटाएको थियो। नयाँ व्यवस्थाले राष्ट्रपति सीलाई अनन्तकालसम्म राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो। यसैअनुसार उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन्। आगामी पाँच वर्षपछि पनि उनलाई चुनौती दिने कुनै नेता देखा नपरे उनी नै थप केही वर्ष नेतृत्वमा रहने बाटो खुला रहनेछ।

तेस्रो कार्यकालका लागि राष्ट्रपति नियुक्त भएलगत्तै सीले चीनलाई ‘समृद्ध, बलियो, प्रजातान्त्रिक, सभ्य र महान् आधुनिक साम्यवादी मुलुक बनाउने’ भन्दै प्रतिबद्धता जनाएका छन्। त्यस अवसरमा सीले कुनै पनि मुलुक प्रजातान्त्रिक छ छैन भन्ने कुरा यहाँ मानिसहरू वास्तवमा देशका ‘मालिक’ हुन् वा होइनन्, मतदानको अधिकार छ/छैन र महत्त्वपूर्ण कुरा त्यहाँ सहभागिता छ/छैन भन्ने कुराले निर्क्योल गर्ने बताए

यता, अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयका चिनियाँ राजनीतिशास्त्रका विज्ञ वेन ती सङ भन्छन्, “चीनको राजनीति विस्तारित भएर यस्तो युगमा पुगेको छ, जहाँ विजेताले सबथोक प्राप्त गर्छ। र, सी चिनफिङ सर्वविजेता हुन्।”

सीसँगै ६८ वर्षीय हान झेङ नयाँ उपराष्ट्रपति र ६६ वर्षीय झाओ लेजी चिनियाँ संसद्का अध्यक्ष चुनिएका हुन्।

तेस्रो कार्यकाल सम्हाल्नुअघि सीले चीनले निजी क्षेत्रको गुणस्तर बढाएर अर्थतन्त्रलाई प्राथमिकता दिने बताए थिए। चीनको अहिलेको प्राथमिकता भनेकै आर्थिक विकास र अमेरिकासँगको शत्रुताको सामना गर्ने र पश्चिमा देशहरूसँगको कूटनीतिक सम्बन्ध जोगाउने नै रहनेछ।

राष्ट्रपति सीले यी कुरामा केही समयअघि देखि नै जोड दिँदै आएका छन्। किनकि, उनी नै तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने कुरा लगभग निश्चित जस्तै थियो। र, उनको योजनामा कसैले हस्तक्षेप गर्न सक्दैन भन्ने निश्चितजस्तै थियो।

राष्ट्रपतिमा नियुक्त भएको दुई दिनअघि मात्रै चिनियाँ सेना र सशस्त्र प्रहरी बलका अधिकारीहरूसँगको भेटमा राष्ट्रपति सीले एकीकृत राष्ट्रिय रणनीतिलाई बढाउने र रणनीतिक क्षमता बिस्तारमा जोड दिएका थिए। 

त्यहाँ उनले विज्ञान र प्रविधिमा आत्मनिर्भर रहन चीनले उचित राष्ट्रिय परीक्षणशालाहरूको निर्माण, नवीनतम उत्पादन र सृजनशीलताको विकास र व्यवस्थापनलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए। साथै, हतियार उद्योगहरूको संरचना प्रणालीमा स्तरोन्नति र आपूर्ति र मागलाई समेत व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो। राष्ट्रिय सुरक्षा प्रणालीलाई बलियो बनाउन नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताउँदै सीले राष्ट्रिय क्षमता र राष्ट्रिय रणनीतिमा ध्यान दिनुपर्ने बताएका थिए।

यता, केही दिन अघि मात्रै चीनले आफ्नो रक्षा बजेटमा २२४ बिलियन अमेरिकी डलरभन्दा बढी विनियोजन गरेको थियो। पश्चिमा मुलुकहरूले सैन्य क्षेत्रमा चीनको खर्चलाई चासोका साथ हेरेका छन्। यता, चिनियाँ जनकंग्रेसका प्रवक्ता वाङ चाओले रक्षा बजेटलाई उचित र व्यावहारिक भनेका छन्।

यति मात्र होइन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफूलाई विश्वमाझ स्थिर र अब्बल देखाउने प्रयासका लागि थुप्रै विषयमा ध्यान दिएको छ। विशेष गरी अबका पाँच वर्षमा उसले अर्थतन्त्र बिस्तार मै ध्यान दिएको छ।

सीको तेस्रो कार्यकालका चुनौती
सन् २०१३ मा पहिलोपटक चीनको राष्ट्रपति बनेका सीले तेस्रो कार्यकाल पनि नेतृत्व सम्हाल्नेछन् भनेर सायदै कसैको कल्पनामा थियो। चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारालाई व्यवहारमा उतार्ने लोकप्रिय नेताको छवि बनाएका नेता सी तेस्रो कार्यकाल पनि चीनको राष्ट्रपति नियुक्त भए।

पश्चिमा मिडियाहरूले भने सीको तेस्रो कार्यकाल थप विवादित र चुनौतीपूर्ण उल्लेख गरेका छन्। कम्युनिस्ट विचारधारामा चल्ने चिनियाँ नेतृत्वलाई अधिकांश पश्चिमा मिडियाहरूले निरंकुश शासनको संज्ञा दिने गरेका छन्। चीन सरकारमाथि नागरिकको मौलिक अधिकार कुण्ठित पारेको, मानवअधिकार उल्लंघन गरेको र जनतामा भ्रम छरेर निरकुंश शैलीमा शासन गरिरहेको पश्चिमा आरोप छ।

विशेष गरी कोभिडबाट उम्किन तीन वर्ष बिताएको चीनले आन्तरिक उपभोक्ता र व्यापारमा समेत चुनौती भोगिरहेको छ। जसले गर्दा चिनियाँ उत्पादनको निर्यातमा पनि असर देखिएको रोयटर्सले जनाएको छ। गत वर्ष चीनले केबल ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो जुन दशकौँयताकै खराब नतिजा हो। यस वर्ष पनि  पाँच प्रतिशत आसपासको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ।

अमेरिकी थिंक ट्यांक जेम्सटाउन फाउन्डेसनका वरिष्ठ अधिकारी विली लाम भन्छन्, “सी चिनफिङको तेस्रो कार्यकाल आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्छ। यदि उनी अहिले जे गरिरहेका छन् (पार्टीलाई कठोर बनाउने, निजी क्षेत्रमाथि सरकारी नियन्त्रण र पश्चिमाहरुविरुद्ध खनिने) त्यसैमा केन्द्रित भए उनको सफलताको सम्भावना घट्दै जानेछ।”

पछिल्लो समय अमेरिकासँगको शत्रुतापूर्ण सम्बन्ध र रुस–युक्रेन युद्धमा परोक्ष रूपमा रुसलाई साथ दिएकोलगायतका कारणले चीन पश्चिमा मिडियाको तारो बनिरहेको छ। र आफू विरुद्धका लगभग सबै आलोचनाप्रति स्पष्टीकरण दिने र आफूलाई सही साबित गर्ने प्रयास चीनको रहने गर्दछ। 

सीलाई तेस्रो कार्यकालका लागि बधाइ दिने पहिलो विदेशी नेता रुसी राष्ट्रपति थिए। “प्रिय मित्र सी, दुई देशको सम्बन्ध बलियो बनाउन र रणनीतिक साझेदारीमा यहाँको निजी योगदानको रुस कदर गर्दछ।” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीलाई बधाइ दिएका थिए।

यसअघि गत वर्षको फेब्रुअरीमा रुस र चीनले दुई देशबीचको अटुट सम्बन्ध र विभिन्न क्षेत्रमा भएका सम्झौता र साझेदारीसहित गहिरो मित्रता झल्कने संयुक्त विज्ञप्ति समेत जारी गरेका थिए। त्यसको केही दिनमै युक्रेनमाथि आक्रमण गरेको रुसविरुद्ध चीनले आजसम्म पनि केही बोलेको छैन। बरू आपसी मामिला वार्ताबाट सुल्झाउनुपर्ने बताउँदै आएको छ। 

रुसमाथिका प्रतिबन्ध र राष्ट्रसंघमा रुसविरुद्धको मतदानमा पनि चीन तटस्थ बस्दै आएको छ। चीनको यस्तो रवैयालाई पश्चिमा मुलुकहरूले स्पष्ट रूपमा रुसको साथ दिएको भन्दै व्याख्या गरेका छन्। तर, चीनले यसलाई खण्डन गर्दै युक्रेनको सार्वभौमिकताको पक्षमा रहेको र संकट समाधानका लागि आफूले साथ दिने बताएको छ।

यति मात्र होइन चीनले ताइवानलाई नियन्त्रण लिने रणनीति बनाएकोमा आक्रोशित अमेरिकाले ताइवानलाई सैन्य सहयोग गरिरहेको छ। अमेरिकी कदमको पनि चीनले धम्कीपूर्ण भाषामा चेतावनी दिँदै आएको छ।

ताइवान, युक्रेन, रुस, व्यापार, साउथ चाइना सी र प्रशान्तीय क्षेत्रको कूटनीतिजस्ता विषयहरू आज मात्र होइन धेरैअघिदेखि नै चीनका चुनौती रहँदै आएका छन्। तर अहिलेसम्मकै शक्तिशाली नेतृत्व बनाउन सफल चीनले आगामी पाँच वर्षमा यी विषयलाई कसरी समाधान गर्ला भन्ने धेरैको चासो छ। किनकि, चीनलाई स्थिर भएर आफ्नो काम गर्न सीसीपीलाई अहिलेको जति सहज कहिल्यै थिएन। त्यसैले पनि सीलाई तेस्रो कार्यकाल नेतृत्व सम्हाल्ने मौका जुरेको हो। तर, विशेष गरी प्रजातन्त्र र मानवअधिकार रक्षा, सन्तुलित विदेश नीति र अमेरिसँगको सम्बन्ध सुधारमा चीनले ध्यान दिनुपर्ने चुनौती पनि छ।

सीको जीवनसंघर्ष र चिनियाँ राजनीतिमा उदय
सी चिनफिङको जन्म सन् १९५३ जुन १५ मा बेइजिङको एक सम्पन्न परिवारमा भएको हो। माओत्सेतुङको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता र पछि चीनका उपराष्ट्रपति समेत बनिसकेका सी झोङसुनका जेठा छोरा हुन्। बेइजिङको सम्भ्रान्त वातावरणमा बाल्यकाल बिताएका सीलाई सांस्कृतिक क्रान्तिका बेला उनका बुबाले सन् १९६९ मा ग्रामीण क्षेत्रमा काम गर्न पठाएको ब्रिटानिकाले उल्लेख गरेको छ।

त्यहाँ उनले ६ वर्षसम्म ज्यालामजदुरी गरेको र किसानी परिवारहरूको सानिध्यका समय बिताएको बताइएको छ। किसान परिवारप्रति सहानुभूति र लगाव राख्ने उनले सन् १९७४ मा चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक सदस्यता लिई शाखा महासचिवका रूपमा सेवा गरेका थिए।

बेइजिङको सिङगुवा विश्वविद्यालयमा केमिकल इन्जिनियरिङको पढाई पूरा गरी उनी १९७९ मा दीक्षित भएका थिए। पछि सन् १९८२ मा हेबेई प्रान्तमा सीसीपीको उपमहासचिवका रूपमा तीन वर्ष बिताए सीले पार्टीको कमिटी सदस्य र फुजिआत प्रान्तको सीयामेनका उपप्रमुखमा समेत नियुक्त भएका थिए।

सीले चर्चित लोकगायिका पेङ लियुआनसँग सन् १९८७ मा विवाह गरेका थिए। सन् १९९९ मा फुजिआन राज्यका कार्यवाहक गभर्नर बनेका सी त्यसको अर्को वर्ष नै त्यहाँका गभर्नर बनेका थिए।

त्यसपछि २००३ मा झेजियाङ प्रान्तमा कार्यवाहकको भूमिकामा काम गर्न थालेका उनले दिगो विकासको प्रवर्द्धनका लागि प्रान्तीय औद्योगिक संरचनाहरूको पुनर्निर्माणमा समेत काम गरेका थिए। त्यसको केही वर्षपछि २००७ मा सांघाई राज्यमा पार्टी महासचिवका रूपमा उच्च नेतृत्व सम्हाल्ने मौका पाएका सीले सांघाईको वित्तीय छवि सुधार र स्थायित्वका लागि काम गरे। 

पार्टीभित्र आफूलाई अब्बल बनाउने भूमिकामा सफलता पाइरहेका सी त्यसै वर्षको अक्टोबरमा पार्टीको पोलिटिकल ब्युरोका नौ सदस्यीय स्थायी कमिटी सदस्य बने। जुन सत्तारुढ पार्टीमा सर्वोच्च पद हो।

कतिपयले उनलाई त्यतिबेला नै तत्कालीन राष्ट्रपति हु जिन्ताओका प्रतिद्वन्द्वीका रूपमा हेर्न थालिसकेका थिए। सन् २००८ मा चीनको उपराष्ट्रपति चुनिएपछि उनको राष्ट्रपति बन्ने बाटो थप फराकिलो बन्यो। उपराष्ट्रपतिको कार्यकालमा उनी अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा केन्द्रित थिए।

पछि २०१० मा सी शक्तिशाली केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष बने। २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेका सी केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत बने। सीलाई सन् २०१३ मै चीनको राष्ट्रपति बन्ने अवसर जुरेको हो। त्यसयता चीनको राष्ट्रपतिका रूपमा उनले २ कार्यकाल पूरा गरे।