तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

सी चिनफिङ तेस्रोपटक पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी)को राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोग (सीएमसी)को अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका छन्। 

पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी) को राष्ट्रपति र केन्द्रीय सैन्य आयोग (सीएमसी) को अध्यक्षमा सी शुक्रबार सर्वसम्मतिले नियुक्त भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। 

१४ औँ नेशनल पिपुल्स कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको हो। उनी २ हजार ९५२ मतसहित सर्वसम्मतिले राष्ट्रपतिमा चुनिएका हुन्।

आधुनिक चीनमा सर्वाधिक शक्तिशाली नेताका रूपमा उदाएका ६९ वर्षीय सी चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को इतिहासमा तीन कार्यकालका लागि राष्ट्रपति बन्ने पहिलो नेता हुन्।

माओपछिकै शक्तिशाली नेता मानिने सी सीसीपीको महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष हुँदै शक्तिमा उदाएका थिए। नवनिर्वाचित राष्ट्रपतिका रूपमा सीको कार्यकाल ५ वर्षको हुनेछ। 

चिनियाँ सरकारी प्रणालीमा राष्ट्रपतिको भूमिका अधिकांश रूपमा आलंकारिक नै हुने गर्छ। त्यहाँको शक्ति संरचना अनुसार सीसीपीका स्थायी सदस्यहरू सर्वशक्तिमान रहन्छन्। उनीहरूकै निर्णयअनुसार नै चीनका अधिकांश नीति र निर्णय कार्यान्वयन हुने गर्छन्। त्यसैले चीनमा राष्ट्रपतिको भूमिका आफैँमा शक्तिशाली हुँदैन। तर, विश्व राजनीतिमा चर्चित, विदेश नीतिका जानकार र नेतृत्व क्षमताका कारण सी नै सीसीपीको रोजाइका प्रमुख नेता भएकाले उनी नै राष्ट्रपति चयन भएको पश्चिमा मिडियाहरूको टिप्पणी छ।

पछिल्लो समय मानवअधिकार, विदेश नीति, सैन्य कूटनीति, व्यापारजस्ता विषयमा अन्तर्राष्ट्रिय रूपमा आलोचना खेप्दै आएको चीनले राष्ट्रपति सी को तेस्रो कार्यकालमा कसरी आफूलाई अघि बढाउला प्रतीक्षाको विषय छ। 

-एजेन्सी