लिग-२ : पपुवा न्युगिनीविरुद्ध नेपाल ५२ रनले विजयी

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै बनाउन सक्यो। जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ।

तस्वीर : क्यान

काठमाडौँ– ओपनर आसिफ शेखको शतकमा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा घरेलु टोली नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै बनाउन सक्यो।

पपुवा न्यू गिनीका नोर्मन भानुआले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले। ८औँ नम्बरमा क्रिजमा आएका उनले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

ओपनर टोनी उराले पनि अर्धशतक प्रहार गरे। ओडीआईमा उनको यो पाँचौँ अर्धशतक हो। नेपालविरुद्ध उनी ४४ बलमा ९ चौकासहित ५० रन प्रहार गर्दै सन्दीप लामिछानेको बलमा विकेट किप्पर आरिफ शेखबाट क्याच आउट भए।

उनले पहिलो विकेटका लागि किप्लिङ डोरिगासँग ७७ रनको साझेदारी गरेका थिए।

किप्लिङ ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा रन आउट भए।

त्यसपछि आएका कप्तान असद भालाले पपुवा न्युगिनीको इनिङ्स उकासेका थिए। उनले ५३ बलमा २ चौका र २ छक्कासहित ४२ रन बनाए।

त्यसपछि क्रिजमा आएका चार्ल्स अमिनीले ११ रन जोडे भने हिरी हिरी, चार्ड सोपर दोहोरो अंकबिना नै पिभिलियन फर्किए।

तर, तल्लो क्रमका रिले हेकुरेले १७ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ३७ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९. १ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनायो। यो ओडीआईमा नेपालले बनाएको कीर्तिमान रन हो। २०२३ फेब्रुअरी १४ मा नेपालले नामिबियाविरुद्ध ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो।

उक्त खेल पनि कीर्तिपुरमै भएको थियो।

नेपालका आसिफले सर्वाधिक ११० रनको शतकीय इनिङ्स खेले। उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनको ओडीआई करिअरमा यो नै पहिलो शतक हो। यसअघि उनले ७ अर्शतक प्रहार गरेका थिए। यस्तै, उनको यो नै सर्वाधिक रन हो। यसअघि सन् २०२१ सेप्टेम्बर १४ मा ओमानविरुद्ध सर्वाधिक ९० रन बनाएका थिए। त्यसबेला उनले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।

आसिफले पनि ओडीआईमा एक हजार रनको खुड्किलो पार गरेका छन्। उनले ३२ इनिङ्समा १०२० रन बनाएका हुन्। यसअघि कप्तान रोहितकुमार पौडेलले मात्रै ओडीआईमा हजार रन पूरा गरेका थिए।

अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए। उनले ५६ बलमा ६ चौका प्रहार गरे। उनीहरूबीच पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी भएको थियो।

१८.४ ओभरमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि लगातार २ विकेट गुमायो। कुशल मल्ल २ र ज्ञानेन्द्र मल्ल ११ रनको व्यक्तिगत स्कोरमा आउट भए।

तर, त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेलले आसिफसँग ६७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए। आसिफ ३७ ओभरको चौथो बलमा आउट भए। त्यसलगत्तै रोहित पनि ३० रनमा क्याच आउट भए।

उनले ३९ बलमा २ चौका  १ छक्का प्रहार गरे।

भीम सार्कीले ३८ बलमा ४ चौकासहित ४४ रन बनाए।

आरिफ शेख १५, करण केसी ८, सन्दीप लामिछाने ७ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। सोमपाल कामी ४ रनमा अविजित रहे।

पपुवा न्युगिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए।

रिले हेकुरेले ३ विकेट लिए। जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ। नेपालले शीर्ष ३ मा रहँदै यही वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्ने सम्भावना जीवितै राखेको छ। यस्तै, शीर्ष ५ मा रहेर ओडीआई मान्यता कायमै राख्न नेपाललाई एक जितको आवश्यक छ।

पराजित पपुवा न्युगिनी समान खेलबाट ४ जितसहित ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

नेपालले अब दोस्रो खेल आइतबार अंक तालिकाको छैटौँ स्थानमा रहेको यूएईसँग खेल्ने छ।