चितवन–२ को उपनिर्वाचनका लागि दर्ता १८ दललाई चिह्न प्रदान

निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ।

काठमाडौँ– आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो।

सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बिहीबार विज्ञप्ति जारी जानकारी दिए।

नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने व्यवस्था छ।

निर्वाचनका लागि दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनःजागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल रहेका छन्।