जजिराले भैरहवामा पुनः शुरू गर्‍यो उडान

मौसमको कारण देखाउँदै भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुचारु गरेको छ।

काठमाडौँ- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले बिहीबारदेखि पुनः उडान शुरू गरेको छ।

मौसमका कारण देखाउँदै गत पुस ६ गतेदेखि उडान रोकेको जजिराले साढे २ महिनापछि पुनः भैरहवा–कुवेत, कुवेत–भैरहवाको उडान शुरू गरेको हो।

बिहीबार बिहान ७ बजेर १५ मिनेटमा ६६ जना यात्रुसहित भैरहवामा अवतरण भएको जजिराको विमान ९३ यात्रु लिएर ८ः२० बजे फर्किएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। जजिराले बिहीबार, शनिबार र मंगलबार गरी साताको तिन दिन उडान गर्ने तालिका  छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गते उद्घाटन हुँदा कुवेतको जजिरा एयरलाइन्सले दैनिक उडान थालेको थियो। तर, यात्रु नभएको भन्दै केही समयपछि नै हप्ताको तीन दिन मात्र उडान गरिरहेको थियो। 

जजिराबाहेक अन्य एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएका छैनन्।