पपुवा न्यू गिनीविरुद्ध आसिफ शेखको शतक

शेखले १०१ बलमा १० चौका र २ छक्कासहित १०० रन पूरा गरेका हुन्।

काठमाडौँ– नेपालका ओपनर आसिफ शेखले पपुवा न्यू गिनीविरुद्ध शतक पूरा गरेका छन्।

आईसीसी लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए।

शेखले १०१ बलमा १० चौका र २ छक्कासहित १०० रन पूरा गरेका हुन्। ओडीआईमा उनको यो पहिलो शतक हो। यसैबीच शेखले ओडीआईमा १ हजार रन पनि पूरा गरेका छन्। यसअघि नेपालका कप्तान रोहित पौडेलले मात्र १ हजार रनको कोशेढुंगा पार गरेका छन्।

नेपालबाट ओडीआईमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी पनि शेख र ज्ञानेन्द्र मल्ल हुन्। दुवै जनाले सात अर्धशतक बनाएका छन्। मल्लको ओडीआईको एकै इनिङ्समा उच्च रन ७५ छ।

नेपालले जारी खेलमा १९२ रन बनाउँदै ३ विकेट गुमाइसकेको छ। ओपनर कुशल भुर्तेल ४५, ज्ञानेन्द्र मल्ल ११ र कुशल मल्ल २ रनमा आउट भएका थिए।