मतदानपछि राष्ट्रपति उम्मेदवारले के भने?

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग लिएपछि उम्मेदवारहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उत्साहित देखिएका छन्।

काठमाडौँ- राष्ट्रपति निर्वाचनका लागि जारी मतदानमा दुवैजना उम्मेदवारले पनि मतदान गरेका छन्। 

बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी मतदानमा नेपाली कांग्रेससबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका हुन्। 

मतदानपछि कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए। 

पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताए। 

उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो। संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु।” 

उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफूलाई सहयोग गरेको दाबी गरे। 

त्यस्तै, एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देशको अवस्था चुनौतीपूर्ण रहेकाले सबै एकै ठाउँ उभिनुपर्ने आवश्यकता रहेको बताए।

मतदानपछि बोल्दै नेम्वाङले  देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए। 

उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने उनको भनाइ थियो। 

उनले भने, “राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ। नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ। त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ। त्यसैले म सफल रूपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु। जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो। जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछ।”

उम्मेदवार नेम्वाङले राष्ट्रपति निर्वाचनको लागि आफू उत्साहित रहेको बताए।