राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार नै सार्वजनिक गर्ने आयोगको तयारी

निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बताएको छ। मतदानलगत्तै भोलि नै मतपरिणाम सार्वजनिक गरिने आ‍योगको तयारी छ।

काठमाडौँ– बिहीबार हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको जानकारी दिए। “भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। आयोगले सबै तयारी पूरा गरिसकेको छ”, उनले भने, “मतदान सकिएपछि आयोगले मतगणना शुरू गरेर भोलि नै मतपरिणाम सार्वजनिक गर्छ।” 

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। 

प्रवक्ता पौडेलका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। आयोगले संघीय संसद्का लागि र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्माण गरेको हो। 

आयोगद्वारा प्रकाशित मतदाता नामावलीको अन्तिम सूचीअनुसार राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता रहेका छन्। 

मतदाताहरूमा संघीय संसद्तर्फ ३३२ जना र प्रदेशसभातर्फ ५५० जना रहेका छन्। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको तथा चितवन २ मा सांसद पद रिक्त रहेकाले ८८२ जनाको सूची प्रकाशन गरिएको आयोगले जनाएको छ। 

त्यस्तै, कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका सिलसिलामा मुम्बईमा रहेको र जसपाका एक सांसदको निधन भएकाले ८८० जना मतदाताले मात्रै भाग लिने देखिएको छ।