राष्ट्रपतिमा विद्यादेवी भण्डारीको भूमिका उत्कृष्ट : ओली

ओलीले महिलाहरू अब देशको प्रधानमन्त्री बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए। 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल भएको बताएका छन्।

राष्ट्रपति भण्डारीको दुवै कार्यकाल नेपाल र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको बताएका हुन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको धारणा राखे।

“आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ। तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले राष्ट्रपतिको जिम्मेवारी बहन गर्नुभएको छ,” ओलीले भने, “त्यो जिम्मेवारी एक पटक मात्रै होइन। फेरी उहाँले भनेर होइन। अघिल्लो कार्यकालको सफल, सही र उत्कृष्ट भूमिकाका कारण बन्नुभएको हो।”

सिंगै देशले पहिलो कार्यकालको  अनुभवलाई हेरेर दोस्रोपटक राष्ट्रपति बनाएको ओलीको भनाइ थियो। ओलीले महिलाहरू अब देशको प्रधानमन्त्री बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए।