महिला सशक्तीकरणमा नेपालको उपलब्धि विशिष्ट : राष्ट्रपति

महिला दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले  महिलाको हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न लाग्नुपर्ने बताएकी हुन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैंगिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन्। 

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले  महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न लाग्नुपर्ने बताएकी हुन्। 

“यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ,” शुभकामना सन्देशमा भनिएको छ, “महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको छ।”

मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको र यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको राष्ट्रपति भण्डारीको विश्वास छ। 

“अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास छ,” उनले भनेकी छन्, “राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैंगिक समानताको अभिप्राय हो।” 

महिला सशक्तीकरणका निम्ति महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।