महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उर्मिला अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तहदेखि प्रदेश र संघीय संसद्सम्म महिलालाई ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्ने बताएकी छन्।

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन्। 

मंगलबार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरू चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन्। 

उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद् सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन्। नेपालमा पुरुषको भन्दा महिलाहरूको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरू ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित हुननहुने जिकिर गरिन्। 

उपाध्यक्ष अर्यालले राज्यका निकायहरूको प्रमुख पदहरूमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरूमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले महिलाहरूलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन्। 

प्रत्यक्षतर्फ महिलाहरूलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना कम हुने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने उनको दाबी थियो।

उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरूलाई पुर्‍याउनुपर्ने बताइन्। हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरूको भूमिका हुन नसकेको भन्दै उनले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्।  

उनले भनिन्, “राजनीतिक पार्टीहरूमा शीर्ष स्थानहरूमा महिलाहरूको नेतृत्व हुने कुराहरूको अझै पनि अभाव छ। जसले राजनीतिको मूल नीतिलाई दोहोर्‍याइराखेको हुन्छ, त्यो भनेको राजनीतिक दलहरू हो। ती दलहरूमा अझै पनि महिलाहरूको निर्णायक ठाउँको अधिकार अथवा निर्णय गर्ने ठाउँमा सर्वोच्च पदाधिकारीहरूमा कति छ भन्ने कुरो अझै हामीले विचार गरेर जानुपर्ने देखिन्छ।”

उनले राष्ट्रिय महिला आयोगले भुइँ तहका महिलाहरूको लागि काम गर्नुपर्ने बताइन्। उनले भुइँ तहका महिलाहरूलाई परेका पिर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन्।