लिग-२ : यूएईमा तीन खेल जितेर फर्कियो नेपाली टोली

नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।

तस्वीर : क्यान

काठमाडौँ– यूएईमा आयोजित आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँग चार ओडीआई खेल खेलेर नेपाल मंगलबार दिउँसो स्वदेश फर्किएको हो।

नेपालले सिरिजका चारमध्ये तीन खेल जितेको थियो। पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल यूएईसँग ६८ रनले पराजित हुन पुगेको थियो।

तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई ३ विकेट र अन्तिम खेलमा यूएईलाई ४२ रनले पराजित गरेको थियो। जितसँगै नेपालले ४ खेलबाट महत्त्वपूर्ण ७ अंक जोडेको छ। नेपालले लिग-२ मा ३२ खेलमार्फत् १५ जित र २ बराबरीसहित ३२ अंक जोडेको छ।

नेपालले शीर्ष ३ मा रहेर यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना पनि जीवितै राखेको छ। नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।

नेपालले पहिलो खेल फागुन २५ गते बिहीबार पपुवा न्युगिनीसँग खेल्ने तय छ। दोस्रो खेल यूएईसँग फागुन २८ गते आइतबार खेल्ने छ। यस्तै, तेस्रो खेल पपुवा न्युगिनीसँग फागुन २९ गते सोमबार र अन्तिम खेल यूएईसँग चैत २ गते बिहीबार खेल्ने छ।

सिरिज खेल्न पपुवा न्युगिनीको टोली नेपाल आइसकेको छ। पपुवा न्युगिनीको टोलीले मंगलबार दिउँसो त्रिवि क्रिकेट मैदानमा वार्मअप गरेको थियो। यूएईले पनि नेपाल आउने अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।

३२ खेलबाट १४ जितसहित ३१ अंक जोडेको यूएई हाल छैटौँ स्थानमा छ। यता, पपुवा न्युगिनी समान खेलबाट ४ जितसहित ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ। पाँचौँ स्थानमा रहेको नेपालले समान खेलबाट ३२ अंक जोडेको छ। नेपालले शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप खेल्न बाँकी रहेका चार खेलमा शतप्रतिशत जित हासिल गर्नुपर्ने छ।