ए डिभिजन लिग : चर्च ब्वाइज र एपीएफको विजयी शुरूआत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।

तस्वीर एन्फा

काठमाडौँ– काठमाडौँमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।

शनिबार ललितपुरको च्यासलमा भएको डेब्यू खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्‍यो। चर्च ब्वाइजको जितमा आशीष चौधरी फ्रायन्किलन क्विटेटलाले १/१ गोल गरे।

पुलिसका लागि रवि पासवानले गोल फर्काए। पुलिसले १४औँ मिनेटमा रविको गोलमार्फत अग्रता लिएको थियो। शुरूआती अग्रता जोगाउन नसक्दा पुलिसले अंक गुमाउनु पुग्यो। जितसँगै चर्च ब्वाइजले ३ अंक जोडेको छ।

त्यस्तै, शनिबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा एपीएफले थ्री स्टारलाई २-० ले हराएको हो। एपीएफका लागि मणिकुमार लामा र अर्मान्ड विडोमलले १/१ गोल गरे।

मणिकुमारले खेलको ७२औँ मिनेटमा फ्रिकिटमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ८७औँ मिनेटमा अर्मान्डले १ गोल थपे। जितसँगै एपीएफले ३ अंक जोडेको छ।