दूरसञ्चार क्षेत्रका विकृति हटाइ नियमन प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनुपर्ने बताएकी छन्। नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नीतिगत, कानूनी तथा संरचनागत सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने बताएकी हुन्।

उनले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिन्।

सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नवीनतम प्रविधिको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रबन्ध गरेर सेवाग्राहीलाई लाभ दिनुपर्ने मन्त्री शर्माको भनाइ छ। “प्रविधिमा आएको विकाससँगै एआई, ब्ल्याक चेन, आईओटी, फाइभजी जस्ता नवीन प्रविधिको विकास भएको छ। नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आए पनि विश्वव्यापी सूचकमा भने अझै धेरै पछि छ। विश्व मानचित्रमा दूरसञ्चारको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्छ”, उनले भनिन्।

मन्त्री शर्माले साइबर सुरक्षा, गोपनीयता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। उनले दोहोरो लगानीलाई न्यून गरी दूरसञ्चार सेवा सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रूपमा बिस्तार गरी सेवा सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री शर्माले काठमाडौँ उपत्यकालगायत मुख्य शहरका विभिन्न बजार, गल्ली, सडकपेटी लगायतका स्थानमा अव्यवस्थित रूपमा छरिएका तार र केबललाई सरोकारवालाको भूमिकासहित निश्चित मापदण्ड बनाएर भूमिगत प्रणालीको विकास गर्ने कार्ययोजना बनाउन जरुरी रहेको बताइन्।