‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन
फागु/फगुवा या होली बहुआयामिक पर्व हो। यसमा लोक मान्यता र पौराणिक प्रसंगहरूको समागम पाइन्छ। यसले जीवनचक्र र उत्पादन शृंखलालाई चलाउने समस्त प्राणी तथा वनस्पति जगत्को मूल प्रवृत्तिलाई बिम्बित गर्छ।
यतिखेर रूखमा पुराना पात झरेर मुनाहरू पलाइसकेका छन्। दलहन र तेलहनमा दाना लाग्न थालेको छ। गहुँका बालामा दाना अंकुरित हुन थालेको छ। नयाँ फल सिर्जनाका लागि आँपका मञ्जरी लहलहाएका छन्। लिची, महुवा, अम्बा र सजिवनदेखि नीमसम्ममा फूल लागिसकेको छ। रूख–बिरुवामा फूल फक्रिएर पराग सेचनका लागि तयार छ। रङको व्यावसायिक उत्पादन हामीकहाँ नभएका बेला रङ बनाउन प्रयोग हुने पलाँस फक्रिएर उत्कर्षमा छ यतिखेर।
शिशिर ऋतुसँगै जाडो याम बिदा हुने तरखरमा रहँदा वसन्त ऋतुको आगमन हुने बेला हो यो। स्तनधारी प्राणीमा यतिखेर ‘मद चक्र’ शुरू हुने पूर्वीय मान्यता छ भने आधुनिक विज्ञानले यो बेला ‘सेक्स हार्मोन्स’ उच्च हुने गरेको भन्छ, जसलाई 'स्प्रिङ फिबर'समेत भनिन्छ। नवसिर्जनाको यो यामलाई स्वागत गर्दै रङ र उमंगले भरिएको मदमस्त उत्सवका रूपमा होली वा फागु पर्व मनाउने चलन छ।
प्रकृतिको मूल प्रवृत्ति इंगित गर्ने पर्व
प्रकृतिको मूल प्रवृत्ति नै सिर्जना हो। हरेक प्राणी र बोटबिरुवामा आफ्नो अर्को पुस्ता सिर्जना गर्ने गुण र ध्येय प्रबल हुन्छ। यसैका आधारमा जीवनचक्र र उत्पादन शृंखला बढेको छ। कृषि, पशुपालन, माछापालन र पक्षीपालनमार्फत दुनियाँको जीविका चलेको छ, आहार प्राप्त छ। स्तनधारी प्राणीमा विपरीत लिंगप्रतिको प्रबल आकर्षण यसैको देन हो। प्रकृतिको यो मूल प्रवृत्ति उत्कर्षमा रहेका बेला दैलामा ‘होली’ पर्व आइपुग्छ। यसो भन्न सकिन्छ, प्रकृति र पुरुष तत्त्वको समागमको प्रतीकको रूपमा कयौँ चलन विद्यमान छन् र तीमध्ये एक हो होली।
तराई/मधेशमा 'होलीका दहन'को तयारीमा शिवरात्रिलगत्तै गाउँको एक किनारमा काठ, पराल र खर–पात बटुल्न शुरू हुन्छ। बटुलिएको सामग्रीलाई समद भनिन्छ। समदका बीचमा बाँसको लिंगो ठड्याइएको हुन्छ, जसको टुप्पोमा स्त्री र पुरुषको समागम गर्दै गरेको परालको मूर्ति बनाएर झुन्ड्याइएको हुन्छ। उपत्यकाको कुरा गर्दा भक्तपुरमा ‘चिर स्वायगू’ (लिंग घुमाउने) चलन छ। यससँगै उपत्यकामा फागु शुरूआत भएको मानिन्छ। जगत्प्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भीमसेनको मन्दिरमा काठले बनाइएको लिंगको आकृति र रातो कपडाको योनी जुधाएर होलीको शुरूआत गरिन्छ।
वसन्तपुरको हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपिनीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ। कृष्णको रासलीलालाई स्मरण गर्ने चलन हो यो। नेवार संस्कृतिमा होलीको सन्दर्भमा युवा र युवतीलाई जिस्क्याउँदै गाइएका र प्रेम भाव व्यक्त गरिएका शिष्ट तथा रोचक गीत पाइन्छन् :
अबिरया होली तँचायाला ल्यासे। अबिरं छंगु ख्वाः हिसि दयकाबि। (अबिरको होली रिसायौ कि तरुणी, अबिर दलेर तिम्रो मुहार हिसी बनाइदिन्छु।)
सबैतिर समागमले भरिपूर्ण यो मौसममा चल्ने हावाले समेत बेग्लै अनुभूति दिने गर्छ भन्ने लोक मान्यता छ। तराई/मधेशमा यसलाई ‘फगुनहट बयार’ भन्ने चलन छ। जससँग जोडिएर 'बहे सिहिर सिहिर सिहिर फगुनी बयार, सैँया हो बहुत नीक लागेला' (प्रियतम, सिरिसिरि फागुनको हावा चल्यो, मलाई यसमा मजा आयो) जस्ता लोकगीत छन्। प्राणी जगत्को यौनिक व्यवहार एकले अनेकप्रति आकर्षण राख्ने खालको अर्थात् ‘वन टु मल्टी’ छ। संसारका धेरैजसो समाजमा भने एक जनाले एकसँग (वन टु वन) यौनजन्य गतिविधिलाई मात्र अनुमति दिन्छ। यद्यपि, कतिपय समाज र सभ्यतामा पुरुषलाई धेरै स्त्रीसँगको अनुमति छ।
कतिपय समाजमा एकले एकभन्दा बढीसँगको सम्बन्धको व्यवस्था गरे पनि तिनमा सर्तहरू छन्। स्वस्थ र सामान्य अवस्थामा, यौनिक व्यवहारमध्ये दृष्टि सुख र संवाद मानिसले स्थापित गर्न खोजिरहेको हुन्छ। होलीमा भने थप एक खुड्किलो अघि बढेर ‘स्पर्श’को व्यवस्था छ। यो दिन रङ-अबिर लगाउने क्रममा हुने स्पर्शलाई अन्यथा मानिन्न। परिचितबीच त छँदैछ, सहमति प्राप्तिपछि जो कसैलाई रङ अबिर लगाउँदा हुने स्पर्शलाई यो दिन आपत्तिजनक मानिन्न, जबकि आम अवस्थामा कसैलाई छुने कुरा मान्य हुन्न।
पौराणिक प्रसंग र लोक मान्यता
नेपालको धेरैजसो क्षेत्रमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाउने गरिन्छ। फागु पूर्णिमाको अघिल्लो साँझ 'होलीका दहन' गरेर चाडको शुरूआत गरिन्छ। काठमाडौँको वसन्तपुर दरबार अगाडिको होलीका दहन नामी छ। पौराणिक मान्यतामा आधारित किम्बदन्ती होलीका दहन पछाडि पाइन्छ। पुराण कथाअनुसार त्रेता युगमा विष्णुका सच्चा भक्त भएकै कारण छोरा प्रह्लादलाई मार्न, आफूलाई भगवान्भन्दा शक्तिशाली ठानेका असुर हिरण्यकश्यपुले अनेक प्रयत्न गर्छन्। विष्णु कृपाले भक्त प्रह्लादलाई मार्न हिरण्यकशिपु असफल भइरहेका हुन्छन्। हिरण्यकश्यपुले आगोबाट जोगिने वरदान पाएकी बहिनी होलीकालाई प्रह्लादलाई काखमा बोकी आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको, तर होलीका भने जलेर नष्ट भएकी भन्ने कथा छ। सत्यको जीतको स्मरणमा फागु पूर्णिमा अगाडि होलीका दहनको परम्परा छ।
नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ। होलीका दहनको आगोमा पोलेको रहरको झार पशुधन राखिने गोठमा झुन्ड्याउने चलन मधेसमा विद्यमान छ। यसो गर्दा 'शुभ फल' प्राप्त हुने मान्यता छ। वर्षौंको वैरभाव त्यागेर रङ/अबिर साट्ने दिन हो होली। दुस्मनीले लामो समयदेखि कुराकानी बन्द भएका व्यक्तिहरूले पनि होलीको दिन आपसमा अबिर लगाएर अंकमाल गर्ने चलन छ। दुई जनाबीच मेलमिलाप गराउन चाहने शुभचिन्तकले होलीमा खानपानका लागि वैरभाव भएका दुई जना बोलाएर रङ/अबिर दिएर एक अर्कालाई लगाउन दिने चलन पनि छ। अबिर लगाएपछि अंकमाल गर्ने त भई नै हाल्यो। कतिपयले माफी मागेरै अँगालो हाल्छन्। माफी दिने र माग्ने लोक पर्व पनि हो यो।
फेरिँदै स्वरूप
रङ/अबिर साट्ने र मिठो मसिनो खानु/खुवाउनु होलीको अर्को विशेषता हो। यो दिन मधेसमा मालपुवा, पुरी, मासु र अचारजस्ता परिकार खाने र खुवाउने चलन छ। ठंडइ, लस्सी, भँगपेडा र भाँगोला खाने पनि खाइन्छ। थरिथरिका परिकार खाइ–खुवाई गरेपछि पचाउनको लागि भाँङ खाइन्छ। भाङले नशा लाग्छ। अहिले होलीमा नशा सेवनले समेत प्रधानता पाएको छ। रङ लगाउने चलन पनि पानी र हिलो फ्याँक्ने विकृतिमा रूपान्तरित भएको छ। इच्छाविपरीत रङ दलिदिने, लोला फ्याँक्ने, नशा सेवन गरी उमंगलाई अशान्तिमा रूपान्तरित गर्ने र मोटरसाइकलमा तीनचार जना चढेर हुइँक्याउँदै हिँड्नेजस्ता विकृतिका कारण शहर र बजारहरूमा होलीको समयमा प्रशासनले कडा सुरक्षाको प्रबन्ध गर्नु पर्ने हुन्छ। होली अब 'होहल्ला' भएको देखिन्छ।
मधेशतिर महाशिवरात्रिको भोलिपल्टदेखि हरेक साँझ गाउँ गाउँमा फागुको लोकगीत ‘होरी’ जम्न शुरू हुन्थ्यो। शिवरात्रि र होलीका बीचमा पाहुना घर आए तिनलाई रंग्याएर पठाउने चलन थियो। पैदल, साइकलमा वा बैलगाडामा रङ पोतिएका यात्रु एक गाउँबाट अर्को गाउँतिर जाँदै गरेको देखिन्थे। यो भनेको होली नजिकिँदै गरेको जनाउ दिने दृश्य हुन्थ्यो। रोजगारीका लागि परदेसिएकाहरू केही दिनअगावै आइपुग्थे होलीका लागि। होलीको नयाँ संस्करणमा परम्परागत अभ्यास हराएका छन्। ‘होली मिलन समारोह’, भाषणै सहितको ‘होली शुभकामना आदानप्रदान’ र ‘होलीको पार्टी’जस्ता आयोजना नयाँ हुन्, जसमा पुरानो उमंग र आनन्द पाइँदैन।
धेरै हदसम्म होलीको मूल स्वरूप फेरिएको छ। भारतीय सिनेमाको प्रभावले होलीलाई छोएको छ। भारतको महाराष्ट्र प्रान्तको ‘मट्का फोड्ने’ चलन हिन्दी सिनेमाहरूमा देखाइन्छ। सिनेमाबाट निस्केर नेपालका शहरहरूमा त्यस्ता चलनले ठाउँ लिँदै छन्। स्टेज बनाएर सांगीतिक कार्यक्रम गर्ने चलन पनि थपिएको छ। स्थानीय गीतसंगीत र परिवार तथा गाउँ समाजभित्र एकआपसमा मिलेर मनाउने क्रममा वर्षभरिको रिसराग बिर्सेर रङ अबिर साट्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने होली पर्वका मौलिक विशेषता हुन्। तर अब यसको परम्परागत स्वरूप सकिनै लागेझैँ देखिन्छ।
मधेशमा होलीका लोकभाका
‘होरी’ अर्थात् होली विशेषको लोक भाकाको गीतसंगीत तराई/मधेशतिर विशिष्ट छ। लोक भाकाको ‘होरी’को धुनमा मादल, डम्फु, झाल र मन्जिरी अनिवार्य हुन्छ। गाउने-बजाउनेहरू बीचमा र रमाउनेहरू किनारमा रहने गरी वृत्ताकार बसाइमा जम्छ ‘होरी’। ‘होरी’ मा तीन रस हुन्छन् : रामा रस, कृष्ण रस र लोक रस। शुरूमा रामा रसको भाका गाइन्छ :
‘राम खेले होरी, लक्षुमन खेले होरी,
लंकाके राजा रावन खेले होरी’
रामायणका मान्यताहरूमा लोक व्यवहार जोडेर भाकाहरू तयार गरिएको पाइन्छ। 'रामा रस'मा प्रशस्त ‘होरी’का भाका छन्:
‘लइका राम धनुष कइसे तुरिहे,
हँसेला जनकपुर के लोग’
अर्थात् ‘राम अहिले बालक नै छन्, धनुषमा डोरी कसरी चढाउलान्? जनकपुरवासी हाँस्दैछन्।'
अर्को हो, कृष्ण रस। कृष्ण रसमा व्रज क्षेत्र अर्थात् मथुरा, वृन्दावन तथा कृष्णको प्रसंग रहन्छ। होलीको दिन समूहमै एकपछि अर्को गरी घर घरमा पुग्दै गाउँभरि होरी गाउने परम्परा छ, जसरी तिहारमा पहाडमा देउसी भैलो गाइन्छ। दैलोबाट हिँड्ने बेला गाइने भाका कृष्ण रसकै हुन्छ:
‘सादा आनन्द रहे इहे द्वारे,
मोहन खेलस होरी’
अर्थात् 'सधैँ यो दैलोमा आनन्द रहोस्, श्रीकृष्ण यहाँ होली खेलुन्।'
‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन्। त्यस्ता विशिष्ट र ओजपूर्ण ‘होरी’ गाउने र सुन्ने मान्छे अहिले घट्दै गएका छन्। 'रिलवाला क्यासेट'ले ‘होरी’को मौलिक स्वरूपमा पहिले दखल दियो। पछि चोक चोक थर्काउने गरी लाउडपिकर थपिए, एफएम रेडियोहरू त्यसै पंक्तिमा पर्छन्। अब मल्टिमिडियाको जमाना आएको छ। अश्लील भनेर कतिपयले विकृत मान्ने नयाँ गीतहरूमा पुरानो होरीको अंशसमेत बाँकी नरहेको जानकारहरू बताउँछन्। नयाँ पुस्ताले अग्रजहरूसँग सिक्दै अगाडी बढेको होरी परम्परा साँच्चै बिथोलिएको छ।
रङका अर्थ
होलीमा लगाइने रङहरूले आफैँमा अर्थ राख्ने मान्यता छ। रङपिच्छे पर्ने प्रभाव भिन्न छन्। रातोलाई साहस र प्रेमको प्रतीकका रूपमा लिइन्छ। विशेष प्राथमिकताका साथ होलीमा प्रयोग गरिने रातोलाई शक्ति र सौभाग्यको रङ मानिन्छ। गुलाफीलाई स्त्रीप्रिय रङ मानिन्छ। 'स्त्रैणचीत'को यसले प्रतिनिधित्व गर्छ। यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरियोलाई प्रकृतिको रङ मानिन्छ। सहमति र सद्भाव यसमा निहित हुन्छ। हरियोलाई जीवन शक्ति, जीवित रङ तथा शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ।
सृष्टिमा सबैभन्दा बढी देखिने रङमा निलो र हरियो पर्छन्। हिन्दु मान्यतामा विष्णुलाई निलो वर्णको देवताका रूपमा लिइन्छ। मानिसहरूमा परिपक्व र सन्तुलित विचारधाराको परिचायक पनि हो निलो रङ। पहेँलोलाई सनातन हिन्दू परम्परामा धर्म परायणता र भक्तिभावको रङका रूपमा लिइन्छ। पहेँलोलाई खुसी, रमाइलो एवं आत्मीय व्यवहारको रङका रूपमा लिइन्छ। निलोलाई आकाशको प्रतीक मानिन्छ। कालो निराकारको रङ हो। सबै रङलाई यसले आफूमा समाहित गर्छ। कतिपयले यसलाई नकारात्मकताको प्रतीक पनि मान्छन्। होलीमा कालोको उति प्रयोग हुँदैन। सेतो रङ सफा मन र स्वच्छ चित्तको प्रतीक हो। यसलाई शुद्धताको रङ पनि मानिन्छ।
होलीमा रङ लगाउनु र लगाउन दिनुको अर्थ विभिन्न स्वभाव र भावलाई व्यक्त र स्वीकार गर्नु पनि हो। होलीका कतिपय चलन फेरिए या कतिपय नयाँ थपिए, तर पनि पारिवारिक जमघटबीच रमाउँदै गाउँ समाजसँगको साझेदारीमा मनाइने होलीमा प्रेमको रङ भने अझै फिक्का भएको छैन। छिमेकी भारतका धेरै वटा प्रान्तमा एकसाथ मनाइने पर्व होलीको विस्तार विश्वका प्राय: सबै देशमा छन्।
बंगलादेश, गायाना, मरिसस, फिजी, सुरिनाम, दक्षिण अफ्रिका, अमेरिका र बेलायतमा होली पर्व भारतीय, नेपाली मूलका त्यहाँका नागरिकहरूले मनाउने गरेका छन्। त्यसमा स्थानीयवासी पनि जोडिने गरेका छन्। उसो त कतिपय मुलुकमा होलीसँग मिल्दोजुल्दो पर्वहरू पनि मनाइन्छ। इटालीमा बोलियाकोनोन्सको नामको यस्तै पर्व मनाइन्छ भने चीनमा च्वेजका नामले। अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्यान्डलगायत देशमा पनि आ–आफ्नै प्रकारले होलीसँग मिल्ने पर्व मनाइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
