इजिप्टको पिरामिडभित्र ४५ सय वर्ष पुरानो कक्ष भेटियो

गिजा शहरस्थित खुपुका तीन पिरामिडमध्ये एउटाको मुख्य प्रवेशद्वार नजिकै भेटिएको कक्ष ३० फिट लम्बाई र ६ फिट चौडाइको छ। यो कक्ष केका लागि प्रयोग गरिन्थ्यो भन्ने अझै खुलेको छैन।

इजिप्टको गिजा शहरस्थित खुपु पिरामिडभित्र चार हजार ५ सय वर्ष पुरानो एउटा कक्ष फेला परेको छ। गिजास्थित तीनवटा पिरामिड विश्वकै आश्चर्यमध्ये पर्छन्। 

जसमध्ये एउटा पिरामिडको मुख्य प्रवेशद्वार नजिकै यो कक्ष भेटिएको हो। ३० फिट लम्बाई र ६ फिट चौडाइको यो कक्ष केका लागि प्रयोग गरिन्थ्यो भन्ने अझै खुलेको छैन। 

खुपु पिरामिडभित्र उत्तर दिशातर्फ गहिराइमा बनाइएको यो कक्ष निर्माणका क्रममा उन्नत किसिमका उपकरणहरू प्रयोग भएको पुरातत्वविद्हरूले जनाएका छन्। 

पिरामिडको बाहिरी भागबाट जान नमिल्ने गरी बनाइएको त्यस कक्षको निर्माणप्रति पुरातत्वविद्हरूले आश्चर्य प्रकट गरेका छन्। 

सन् २०१५ देखि पिरामिडको अध्ययन अनुसन्धान भइरहेकोमा वैज्ञानिकहरूले बिहीबार यस कक्षबारेको जानकारी सार्वजनिक गरेको स्काई न्युजले उल्लेख गरेको छ। इजिप्टका पर्यटनमन्त्री अहमद इस्सा र इजिप्सियन पुरातत्त्वविद् जाही हवासले पिरामिडको नयाँ खोजबारे जानकारी सार्वजनिक गरेका थिए।

यस कक्षको खोजीका क्रममा अल्ट्रासाउन्ड मापन र जमिन छेड्ने राडारसहित विभिन्न अत्याधुनिक स्क्यान प्रविधि प्रयोग गरिएको गैर विनाशकारी प्रविधिका प्रोफेसर क्रिश्चियन ग्रुसको भनाइ छ।

ग्रुस भन्छन्, “त्यस कक्षको अन्तिम भागमा दुईवटा ठूला लाइमस्टोन छन् र अहिलेको प्रश्न भनेको ती ढुंगा पछाडि र त्यसमुनि के छ भन्ने नै हो।”

उच्चस्तरीय रेडियोग्राफीबाट करिडोर पत्ता लगाएको र सूक्ष्म इन्डोस्कोपको प्रयोगबाट तस्वीर प्राप्त गरेको वैज्ञानिकहरूले बताएका छन्।

प्राचीन विश्वका अझै पनि अस्तित्वमा रहेका सात आश्चर्यहरूमध्ये इजिप्टका यी विशाल पिरामिड पनि हुन्।

यी पिरामिडको निर्माण, प्रयोग, निर्माण सामग्री र महत्त्वबारे वर्षौंदेखि अध्ययन अनुसन्धान भइरहेका छन्। यसअघि सन् २०१७ मा पछि खुपु पिरामिडभित्र यस्तै प्रकारको ९८ फिट लम्बाइको एक कक्ष फेला परेको थियो।

खुपु पिरामिडको नाम यसका निर्माता खुपुको नामबाट राखिएको हो। खुपु , ईशापूर्व २५०९ देखि २४८३ सम्म शासन गरेका फारोन वंशका चौथो राजा हुन्।