नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट

एशियाली छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा आयोजक यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ।

काठमाडौँ– नेपाल अर्को वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ। एशियाली छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा आयोजक यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि छनोट भएको हो।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो।

यूएईका इथान कार्ल डिसुजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६६ बलमा ८ चौका प्रहार गरे। ओपनर आर्यन सक्सेनाले ६५ बलमा ५ चौकासहित ३४ रन बनाए। अर्का ओपनर आर्यन शर्माले ३२, अम्मर बदामीले १९, ध्रुव पराशरले १७ रन बनाए।

नेपालका दीपेश कँडेलले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ३१ रन खर्चिए। हेमन्त धामी र सुवास भण्डारीले २/२ विकेट लिए।

त्यसअघि यूएईको अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १९१ रन बनायो।

नेपालका कप्तान देव खनालले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ८४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

विशालविक्रम केसीले ५० बलमा ३८ रन बनाए। केसीले ५ चौका प्रहार गरे।

उत्तम थापामगरले ३६ रन बनाएर। ६.१ ओभरमा ३ विकेट गुमाएको नेपालका लागि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

दीपेश कँडेलले १५ र हेमन्त धामीले १३ रन बनाए।

यूएईका लागि ध्रुव पराशरले सर्वाधिक ३ विकेट लिए। उनले ६.५ ओभर बलिङ गर्दै १ मेडनसिहत १८ रन खर्चिए। हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीको नाममा १/१ विकेट रह्यो।

नेपालले ५ खेलमा शतप्रतिशत जितसहित १० अंक बनायो। यूएईले समान खेलमा चार नित हात पार्दै ८ अंक बनायो।

नेपालले अन्तिम पटक सन् २०१६ को विश्वकपमा न्युजिल्यान्ड र आयरल्यान्डजस्ता बलिया टोलीलाई हराउँदै क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो।

राजु रिजालको कप्तानीमा क्वार्टरफाइनल पुगेको नेपाल घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भयो। पहिलो ‘प्लेअफ’मा पाकिस्तानसँग १२२ रनले पराजित नेपाल दोस्रो ‘प्लेअफ’मा नामिबियासँग १५ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

त्यसयता नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो। सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजित यू-१९ विश्वकपका छनोटमा नेपालको बाधक वर्षा बन्यो। एशिया छनोट डिभिजन १ को अन्तिम खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुनु पुग्यो।

नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएर ब्याटिङ गरिरहँदा वर्षा शुरू भएको थियो। वर्षा रोकिने छाँटकाँट देखिएपछि खेल रद्द गर्दै यूएईलाई १ रनले विजयी गराइयो।

यूएई त्यतिमा मात्रै भाग्यमानी साबित रहेन, सन् २०२१ मा यूएईमा हुने तय गरिएको प्रतियोगितामा पनि उसलाई चिट्ठा नै पर्‍यो। कोरोना महामारीका कारण आफूले आयोजना गर्नुपर्ने छनोट प्रतियोगिता रद्द भयो।

गत वर्ष वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पछिल्लो पाँच छनोट प्रतियोगिताको नतिजाका आधारमा यूएईलाई नै छनोट गर्ने निर्णय गर्‍यो। सो बेला नेपाल रहेको समूहमा यूएईसँगै ओमान, मलेसिया र सिंगापुर थिए।