विद्यादेवी भण्डारी एमालेको मात्रै राष्ट्रपति हुनुभयो : उपाध्यक्ष अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्। 

बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी छन्। 

उनले नेकपा एमालेले कुकुनै पनि विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन्। 

नागरिकता विधेयक संसद्बाट दुईपटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको बताउँदै उनले राष्ट्रपतिले अरूको इसारामा नागरिकता विधेयक रोकेको दाबी गरिन्। 

उनले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेरिनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको उनको आरोप थियो। 

उनले भनिन्, "हाम्रै देशको सन्तानले नागरिकता पाउनुभएको छैन। राष्ट्रपतिले नागरिकता विधेयक दुई/दुईपटक फर्काउनुभयो। कसको इसारामा फर्काउनुभयो?”

उनले राष्ट्रपतिले सधैँ एमालेको राष्ट्रपतिको रूपमा मात्रै कार्य गरेको आरोप समेत लगाइन्। “उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो। त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने, कानून बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र”, उनले भनिन्।  

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताइन्। संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा रोकेर काम गर्नुपर्ने उनको भनाइ थियो।