राष्ट्रपति उम्मेदवार नेम्वाङले मागे एकीकृत समाजवादीसँग भोट, आजै रास्वपा र राप्रपाका नेतालाई भेट्ने

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्। 

काठमाडौँ– राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ मत माग्न नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन्। बिहीबार नेम्वाङ पार्टीका नेताहरूसहित पुगेका उनले राष्ट्रपतिमा सघाउन एकीकृत समावजादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए। 

नेम्वाङसँग एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विमला राई पौड्याललगायत नेताहरू पनि गएका थिए।  अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झासँग उनीहरूको छलफल भएको थियो। 

भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए। पार्टी अध्यक्ष नेपालले मत माग्न आएकामा धन्यवाद ज्ञापन गर्दै बिदा गरेको उनले बताए। 

कुराकानी सकारात्मक भएको एमाले उपमहासचिव गुरुङले बताए। पार्टीबीच एकता अभियानलाई अघि बढाउने विषयमा पनि छलफल भएको उनको भनाइ छ। एकीकृत समाजवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ। बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको थियो। 

नेम्बाङले बिहीबारै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने कार्यक्रम छ। राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुँदै छ।