त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।
चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी संगठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन्।
विद्यार्थी संगठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य अजेन्डाका रूपमा अगाडि सारेका छन्। आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी संगठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेन्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य अजेन्डा अघि सारेर निर्वाचनमा होमिँदै छन्।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने अजेन्डासहित स्ववियु निर्वाचनमा होमिने बताए। उनले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताए। “विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ”, उनले भने, “यसपटक हामीले शैक्षिक अजेन्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्छ भन्ने रहेको छ।”
नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्धर्वले घोषणापत्र तयारी गरिसकेको बताए। उनले आफ्नो संगठनको मुख्य अजेन्डा शैक्षिक सुधार नै रहेको बताए। नेविसंघले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने अजेन्डा अघि सारेको छ।
यस्तै सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने अजेन्डा पनि बनाएको छ।
यस्तै वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको अजेन्डा रहेको नेविसंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका गन्धर्वले जानकारी दिए।
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिए। उनले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य अजेन्डा रहेको बताए।
उनले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेन्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने अजेन्डा रहेको जानकारी दिए।
यस्तै, वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि अजेन्डा क्रान्तिकारी रहेको छ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने अजेन्डा रहेको बताए।
नेविसंघका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसंगति सुधार आवश्यक रहेको बताए। उनले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताए। उनले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो अजेन्डा रहेको बताए।
उनले त्रिवि सेवा आयोग प्रत्येक छ/छ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताए। त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो अजेन्डा रहेको बताए।
त्यस्तै, उनले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताए।
आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ।
कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी संघ/संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ। यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन्। विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
