तोकिएकै मितिमा लिग गर्न नसके एन्फासँग क्षतिपूर्ति माग्छौँ : ‘बी’ डिभिजन क्लब

शहीद स्मारक ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएकै मितिमा लिग आयोजना नभए एन्फासँग क्षतिपूर्ति माग्ने निर्णय गरेका छन्।

काठमाडौँ- शहीद स्मारक ‘बी’ डिभिजन लिगका १३ क्लबले तोकिएकै मितिमा लिग गर्न नसके अखिल नेपाल फुटबल संघ (एन्फा)सँग क्षतिपूर्ति माग्ने भएका छन्। 

मंगलबार बसेको ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएको चैत १५ गतेबाट लिग शुरू नगरे क्षतिपूर्ति माग्ने निष्कर्ष निकालेका हुन्।

चैत १५ बाट शुरू हुने भनिएको ‘बी’ डिभिजन लिगका सम्बन्धमा क्लबहरूले सम्झौताअनुसार माघ २९ गते तयारी खर्चबापतको पहिलो किस्ता पाउनुपर्ने थियो। तर, उक्त रकम र अघिल्लो सिजनको बक्यौता रकम ३५ दिनभित्र क्लबको खातामा नआए यस सिजनको लिग नखेल्ने भन्दै सोही दिन १३ क्लबहरूले एन्फालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा २०७९/८० को लिगमा सहभागी हुने आफूले पाउनुपर्ने तयारी रकममध्येको पहिलो किस्ता ८ लाख ७० हजार रुपैयाँ खातामा आएपछि मात्र क्लबहरूले नाम दर्ता गर्ने अडान राखेका थिए।

तर, एन्फाले कुनै चासो नदेखाएपछि सहभागी १४ मध्ये १३ क्लबले तोकिएकै मितिमा लिग शुरू नगरे क्षतिपूर्ति दिनुपर्ने भन्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको ध्यानाकर्षण गराएका हुन्।

बैठकले तोकिएको मितिमा लिग शुरू हुने सुनिश्चितता गर्नुपर्ने, तोकिएको मितिमा लिग शुरू नभए क्षतिपूर्ति दिनुपर्ने र तत्काल तयारी खर्च पाउनुपर्ने माग एन्फासमक्ष राख्ने निर्णय गरेको छ।

मंगलबारको बैठकमा एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज युनाइटेड भने सहभागी थिएन।