मिडियाको 'माइनर अप्रेसन'

सर्वत्र भ्रष्टाचार र बेथिति छन्। एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालका मिडियाचाहिँ कमजोरीरहित होला र?

फ्रान्सेली दार्शनिक रेने डिकार्ट्सले भनेका छन्, 'म सोच्छु र पो त म छु (आइ थिंक, देयरफोर आइयाम्)।' विश्वविद्यालय अध्ययनताका दर्शन पढाउने क्रममा डिकार्ट्सको उक्त भनाइलाई एक गुरु अझ यसरी व्याख्या गर्नुहुन्थ्यो, 'म शंका गर्छु र त पो त म जीवित छु!' मात्र चार शब्दको यो भनाइले गहिरो आलोचनात्मक चेत बोकेको छ। सोच्नु वा शंका गर्नु अग्रगमन हो, उज्यालोतर्फको यात्रा हो। त्यसैले, यो सापेक्ष विचार हो जस्तो लाग्छ। सोच्ने, शंका गर्ने, प्रश्न गर्ने, माग राख्ने र विरोध गर्ने कुराको फैलावटले कुनै समाज कस्तो छ भन्ने आँकलन गर्न सकिन्छ। गतिलो प्रश्न अथवा इमानदार शंकाले आधा उत्तर बोकेको हुन्छ, तर हाम्रो पत्रकारितामा अनुत्पादक ´प्रश्न र शंका`हरू हाबी हुँदै छन्।

१० माघ २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा भने, ´सञ्चारमाध्यममा आएका कुराहरूबारे कमेन्ट गर्न चाहन्नँ, तर यति भन्न चाहन्छु कि मिडियालाई मिडियम बनाएर गलत सूचना नदिने हो भने मात्र पनि धेरै कुराको स्पष्टीकरण दिइरहनु पर्दैन।' 

नागरिकता विवादबारे परेको मुद्दामा सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाबाट रविको नागरिकताको प्रमाणपत्रसँगै सांसद, पार्टी सभापति र गृहमन्त्री पदसमेत बदर गरिदियो। केही घण्टाका लागि ´अनागरिक` बनेका रविले त्यसकै २२ गते पत्रकार सम्मेलनमार्फत नेपाली मिडियामाथि धाराप्रवाह प्रश्न गरे। अझ भनौँ, आरोपको आगो ओकले। अनेकन् संस्था र व्यक्तिको नाम नै तोकेर रविले लगाएका आरोपबारे एक हदसम्म वक्तव्यबाजी भयो, तर आरोपहरूमाथि अनुसन्धान भएको वा आरोप लगाउनेमाथि मानहानिको मुद्दा लागेको सुन्नमा आएको छैन। 

सम्यक् आलोचना, सम्यक् प्रश्न र सम्यक् शंकाका पक्षमा हुनेहरूले रविको उग्र शैलीप्रति आपत्ति जनाए। राजनीतिमा रविलाई आदर्श मान्नेहरूले उनको वाहवाही गरे। यसमा तेस्रो धार पनि छ, जसले ठान्छ-रवि आफैँमा असल पात्र होइनन्, तर उनले मिडियामाथि उठाएका तमाम प्रश्न सत्यबाट टाढा छैनन्। वरिष्ठ पत्रकार किशोर नेपालले रविको बहुचर्चित पत्रकार सम्मेलनलगत्तै कान्तिपुर दैनिकमा लामो लेख लेख्दै भने– रविको आक्रोश 'गणतन्त्रमाथिको भद्दा मजाक' हो।

रविको शैलीप्रति सदैव आलोचक नेपालले मिडियाप्रति रविका आरोप र प्रश्नहरूलाई भद्दा मजाक भने पनि स्वयं किशोर नेपालकै नजरमा नेपाली मिडिया सद्दे छैनन्। डिजिटल पत्रिका 'उकेरा'को चौथो अंग स्तम्भमा किशोर नेपालले बोलेको कुरा सापटी लिने हो भने, ´मिडिया सञ्चालक अनि पत्रकार व्यापारीको स्वार्थ बोकेर हिँडेका छन्। उनीहरूले जसलाई ठोक भन्यो, उनीहरू ठोकिदिन्छन्। जसलाई बोक भन्यो, जुरुक्कै बोकिदिन्छन्।` 

'चौथो अंग'मा पत्रकारिताबारे अन्य थुप्रै व्यक्तिका यस्तै 'क्रिटिकल अपिनियन' छन्।

अभिव्यक्तिको शैली फरक होला, तर आरोपको अन्तर्य त रवि र किशोर नेपालको उस्तै छैन र? पत्रकारिता अध्यापनका नेपाली 'पायोनियर' पी खरेल भन्छन्, 'अहिले साहुअनुसार चल्छ मिडिया। समाचार पनि सम्पादकले भनेबमोजिम हैन, साहुले भनेअनुसार आउँछन्। सिद्धान्तअनुसार सम्पादक निष्ठावान् हुनुपर्ने हो, पक्षधरहीन हुनुपर्ने हो। तर यस्ता सम्पादक छैनन्।'  

'आलोचनात्मक चेतका बादसाह´ खगेन्द्र संग्रौलाको निचोड झनै निराशाजनक छ, 'बिहानीमा पत्रिका हेर्छु, समाचार कुनै चाखलाग्दा छैनन्। दुई घण्टा पत्रिका हेरेपछि लाग्छ, बित्थामा दुई घण्टा खेर गयो। पुरानो पात्र, पुरानो स्वार्थशिवाय पत्रिकाले केही ल्याउँदैन।' 'बाह्रखरी'का प्रधान सम्पादक प्रतीक प्रधान भन्छन्, 'हाम्रो समाजमा धेरै थरी पत्रकार छन्। ठ्याक्कै भन्दा अक्षर र भाषासँग सम्झौता नगरी लेख्ने पत्रकार र अक्षर/भाषालाई दुरुपयोग गर्ने पत्रकार। यस्ता पत्रकारले 'ब्ल्याकमेल' गर्ने, जे पायो त्यही लेख्ने र राजनीतिक अभीष्ट पूरा गर्न खोज्छ। व्यापारिक अभीष्ट पूरा गर्न खोज्छ। पत्रकारितालाई माध्यम बनाएर अपराध गर्नेहरू पनि छन्। तस्करीदेखि क्रसर उद्योग चलाउनेसम्म पत्रकार भएका छन्।'

'अधिकांश रिपोर्टर नपढ्ने तथा भँडास पोख्न मात्र सम्पादक बनेकाहरू हाबी हुँदा पत्रकारिता जसरी हुनुपर्ने हो, त्यसरी भएको देखिँदैन', यो निचोडमा पत्रकार टिकाराम राई पुग्नु पर्ने कारण के हो?

अध्येता हरि शर्माले एक सार्वजनिक मञ्चमा भने, 'पत्रकार पत्रकार जस्ता छैनन्, सम्पादक व्यवस्थापक भए।' उनले यही कुरा अन्यत्र पनि दोहोर्‍याएका छन्। अध्ययनको गहिराइका हिसाबले शर्मा त्यस्ता पात्र हुन्, जो राजनीति र पत्रकारिताको 'मसिनो नाडी' ठम्याउन सक्छन्। मिडियामाथि शर्माले गर्ने टिप्पणी र प्रश्नको उत्तर खोज्ने कसले हो?

निष्पक्षता र समाचार स्वतन्त्रताका हिसाबले आफू अब्बल भएको जिकिर निजी सञ्चारमाध्यमले गरिरहन्छ, तर लामो समय निजी सञ्चारमाध्यममा काम गरेर सरकार नियन्त्रित गोरखापत्रको कार्यकारी अध्यक्ष बनेका विष्णु सुवेदी भन्छन्, 'सरकारको कामको गतिविधिको आलोचनामा केही लक्ष्मण रेखा छ। ढाँटेर काम छैन। तर, अमुक लगानीकर्ता अथवा कर्पोरेट हाउसहरूबाट निजी मिडिया जति नियन्त्रित देखिन्छन्, सरकारी मिडिया सरकारबाट त्योभन्दा बढी स्वतन्त्र छ।' यो कथनलाई गोरखापत्रका कार्यकारी अध्यक्ष बोलेको मान्ने कि उनको अनुभव बोलेको मान्ने?

शहीद गंगालाल हृदय रोग अस्पतालका पदाधिकारीको पदावधि बढाउने सम्बन्धमा केही महिनाअघि छापा र डिजिटल पत्रिकाहरूमा एकपछि अर्को समाचार आइरहे। गंगालालभित्र भएका  खास समस्या छोडेर विषयान्तरसहित आएका समाचारको आशय बुझेका त्यही अस्पतालका वरिष्ठ चिकित्सक रामेश कोइरालाले 'सेतोपाटी'मा प्रतिवादसहितको आलेख लेख्दै मिडियाको नियतमाथि प्रश्न गरे, 'बैठक कक्ष बाहिरबाट घण्टा घण्टाका समाचार पत्रपत्रिकामा आउन थाले। यस्तो चटक कसैको निर्देशन वा स्वार्थबिना भयो होला र?'

मिडियाले बोल्न, प्रश्न गर्न र शंका गर्न सिकाएको छ। बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि समाज विकासमा मिडियाको भूमिका निक्कै ठूलो छ, तर पछिल्लो समय मिडियाले उठाउने प्रश्नभन्दा मिडियामाथि उठाइएका प्रश्न चर्का बन्दै छन्। यी तमाम प्रश्नहरूलाई ´बेरुजु` बनाउन मिल्ला र?

मूलधारलाई सञ्जालले लतारेका ३ बिम्ब


हिउँ चितुवा : बिम्ब १
अमेरिकी फोटोग्राफर कित्तिया पाब्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका तस्वीरहरूले केही महिनाअघि खुबै चर्चा पाए। नेपालका प्रमुख सञ्चारमाध्यम, नेपालस्थित अमेरिकी दूतावास, टाइम्स अफ लन्डनलगायत विश्वका विभिन्न प्रख्यात मिडिया संस्थाले समेत हिउँ चितुवाका तस्वीरहरू प्रकाशन गरे, नेपालमा पनि  फोटोग्राफरको ´लगन र साहस`बारे खुबै प्रशंसा भयो। तर उक्त तस्वीर कहाँबाट आए र तिनलाई आफ्नो भनेर दाबी गर्ने कित्तिया खासमा को हुन् भन्ने विषयमा त्यसबखत पाठकले पढ्नै पाएनन्। त्यसबारे खोजेको भए पो पाठकले पढ्न पाउनु!

फ्रान्सेली अनलाइन म्यागजिन 'अल्पाइन म्याग'ले सार्वजनिक गरेको रिपोर्टपछि बल्ल  ती तस्वीरहरू नै चलाखीपूर्ण रूपमा सम्पादित र हेरफेर गरेको थाहा भयो। अल्पाइन म्यागको तथ्य जाँच बाहिर आउनुअघि कित्तियाले पाउनुसम्म वाहवाही पाइसकिन्, भलै पछि उनको वाहवाही धुलिसात् भयो। सो घटनाले नक्कली सामान बेच्ने, नक्कली नोटको कारोबार गरेर छिट्टै धनी बन्ने र नक्कली समाचार बेचेर रातारात चर्चामा आउन चाहने प्रवृत्ति भएका व्यक्ति सबै  देशमा छन् भन्ने देखाउँछ।

आमसञ्चारमाध्यम र पत्रकारितालाई उछिनेर सामाजिक सञ्जालमा आउने अधकल्चा ´समाचार`ले ´हत्तेरी हामी पो पछि परेछौ कि!' भन्दै मूलधारलाई जस्तोसुकै भए पनि समाचार टाँस्न बाध्य पारिदिन्छ। ´हिउँ चितुवा` काण्ड एक हदसम्म सामाजिक सञ्जालको सह-उत्पादन हो। ´विदेशी पत्रकार बडेमानको क्यामेरा बोकेर हाम्रै हिमालको चितुवा देख्छन्, हाम्रा पत्रकारले काठमाडौँ छोड्न जानेका छैनन्` भन्दै सामाजिक सञ्जालमार्फत हुर्मत लिइएपछि सोधखोज गर्नुभन्दा 'समाचार बनाउन' मूलधार लतारिनु पर्‍यो। परिणाम: मूलधारको पत्रकारिता नै उल्लु बन्नु पर्‍यो।

तिलक सिंह पेला : बिम्ब २
प्रदीपकुमार मैनालीले लेखेको ´के लत बस्यो मलाइ कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ,' बोलको गजलमा स्वर/संगीत दिएसँगै गायक तिलकसिंह पेलाको चर्चा निकै चुलियो! यो गजल जबर्जस्त हिट गराउन ´टिकटक` प्लेटफर्मको ठूलो भूमिका रह्यो। टिकटको भाषामा ´भाइरल` भएपछि बल्ल तिलकसिंह पेलाका लागि मूलधारको ´मिडिया पहुँच` सुगम बन्यो। कान्तिपुर दैनिकमा झन्डै पूरा पृष्ठ कभर पाए, एपीवन र अनलाइन खबरमा अन्तर्वार्तामा आए। छापा, टेलिभिजन र डिजिटल पत्रिका सबैमा तिलकसिंह पेलाले ´सलामी`सहितको 'कभरेज' पाए। तिलकसिंह अब्बल सर्जक हुन्, उनको साधना र गायकी प्रमाण हो। सिंहबारे यसो सोधखोज गर्दा उनीबारे स्थानीय सञ्चारमाध्यम, अनलाइन र युट्युब पत्रकारहरूले पहिले नै कभरेज गरिसकेका रहेछन्।

मूलधारले ´तिलकसिंह पेला` चिन्न टिकटकको भाइरल पर्खनुपर्‍यो। अल्छी बनेर ´सामाजिक सञ्जालसँगै लतारिएको` अपजस बोक्न मूलधारको मिडिया बाध्य बन्यो। अझ कुनै घटना/दुर्घटना विशेषमा ´भिडियो पोस्टिङ र लाइभ`मार्फत हातहातमा स्मार्ट फोन बोकेका अनेक सञ्जाल प्रयोगकर्ता ´रिपोर्टर` बन्दिँदा एउटा तप्काका लागि मूलधारमा समाचार आइसक्दा उक्त समाचार बासी बनिसक्छ।

गोंगबु लुटपाट : बिम्ब ३
फागुन १ गते गोंगबु बस अड्डाको ल्होत्से मलमा भएको लुटपाट र सडकमा सवारीसाधन तोडफोड र आगजनीलाई लिन सकिन्छ। घटनाको फेहरिस्त सञ्चारमाध्यममा आउनुअघि नै सडक र घरका कौसीबाट सामाजिक सञ्जालको ´लाइभ रिपोर्टिङ`मार्फत उक्त घटना ´ब्रोडकास्ट` भइरहेको थियो। समाचारमा चासो राख्ने र आधिकारिक समाचार पछ्याउन रुचाउने म सो उपद्रो भएको ठाउँबाट एक सय मिटरको सेरोफेरोमा बस्छु। त्यस दिनको घटनामा अश्रुग्यासको पिरोले क्षणभरमा आँखासमेत पोल्यो, तर घटनाको मूल कारण दिनभरसम्म मैले थाहा पाइनँ। मूलधारका मिडियाले समयमै 'राम्रो' कभरेज नगरेका कारण त्यहाँको वास्तविकता बुझ्न बेलुका छ बजेसम्म लाग्यो।


पत्रकारसँगको चिढ्याइ
सत्ता वा कुनै पनि संस्थासँग पत्रकारिताको भूमिका मूलतः प्रतिपक्षी हुनुपर्छ। ´ग्रे जोन`सहितको प्रतिपक्षी पत्रकारिता समाजका लागि असाध्यै हितकर हो, तर हाम्रा कतिपय अनुभव अलि रुखा छन्। जस्तो: बालेन्द्र  शाह गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुमा उनलाई मिडियाले गरेको ´सकारात्मक विभेद`को ठूलो योगदान छ। त्यस हिसाबले मेयर र मिडियाको सम्बन्ध सुमधुर हुनुपर्ने हो, तर छैन। महानगरमा सोचेजस्तो 'डेलिभरी' दिन नसकेर हो या पत्रकारसँग चिढिएर, बालेन्द्र अहिले मूलधारका मिडियासँग ´पारपाचुके` गर्न खोज्दै छन्। यता, सफल पत्रकारको परिचयलाई विश्राम दिएर राजनीतिमा आएका रवीन्द्र मिश्रले नामै तोकेर केही मिडिया र पत्रकारले बेइमानी बनेको आरोप लगाएका छन्। पत्रकारिताकै पृष्ठभूमि भएका भूतपूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र पत्रकारको सम्बन्धमा ´छत्तीसको आँकडा` छ।

अर्को प्रसंग, गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिका रूपमा परमानन्द झा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिनेको पंक्ति लामो हुने नै भयो। न्यायाधीश पेसाको पृष्ठभूमिबाट एकाएक राजनीतिक अवतार लिँदै उपराष्ट्रपति बनेका झालाई बधाई दिन कान्तिपुर दैनिकका कानुनी सल्लाहकारले फोन गरेछन्। तिनले दिएको बधाईको  प्रतिउत्तरमा झाले भनेछन् ´मलाइ किन बधाई दिनुहुन्छ? बालकृष्ण बस्नेतलाई दिनुहोस् न!' बधाई दिने पात्र अचम्म परेछन्।  

परमानन्द झाको उक्त लक्ष्यणाको गाँठो कान्तिपुर दैनिकमा बस्नेतले पहिले लेखेको समाचार रहेछ। झाका विवादास्पद फैसलाबारे बस्नेतले समाचार लेखेका थिए। समाचार दस्ताबेज हेर्दा झा ´भ्रष्ट न्यायाधीश` हुन् अनि इतिहास हेर्दा भने उनी गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति। समाचार या इतिहास-दुईमध्ये एक त गलत हुनुपर्ने! यस्तो विरोधाभास सायद नेपालमा मात्र सम्भव छ।

प्रश्नहरूको लेखा परीक्षण खै?
इमानदार प्रश्नले आधा उत्तरसमेत बोकेको हुन्छ भन्ने मान्यतालाई खण्डित गर्दै नेपालको हकमा प्रश्नहरू नै सबैभन्दा बढी बेवारिसे बनेका छन्। कतिपय व्यक्ति भन्छन्, ´मिडियाको आलोचना कसले गर्ने?, मिडियालाई प्रश्न कसले गर्ने?` यो सत्य होइन। मिडियाबारे हामीलाई जे जति कमीकमजोरी थाहा छ, त्यसको स्रोत पनि स्वयं मिडिया नै हो। तसर्थ, मिडियाको आलोचना हुँदै भएन, हुनै सक्दैन भनेर चिन्ता गर्नुको अर्थ छैन। 

समाज जे जति मुखर बनेको छ, यसमा जेजस्तो आलोचनात्मक चेत भरिएको छ, त्यसमा  मिडियाले सबैभन्दा धेरै गुन लगाएको छ। खास चिन्ता त जायज प्रश्न र जायज आलोचनाको सुनुवाइ किन हुँदैन भन्ने हो। आफूमाथि उठेका प्रश्न र आलोचनाको खुलस्त ´लेखा परीक्षण` गर्ने हिम्मत नहुनू हो। प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिएर आत्मसमीक्षा गर्ने र सच्चिने संस्कार हुँदो हो त मिडिया, पत्रकार र नागरिकस्तरबाट गरिएका प्रश्न र आलोचनाबाट राम्रो राजनीतिक प्रणालीले आज ´शास्त्रीय शैली` समाइसकेको हुने थियो। तर हाम्रा राजनीतिक पात्रहरूलाई प्रश्न र आलोचनाले सुधार्नुको साटो झन् प्रतिरोधी र ढिट बनाएको छ।

नेपाली मिडिया र पत्रकारमा पनि त्यो ढिट शैली बढ्दै छ। यो मेरो निचोड होइन, नेपाली मिडियाबारे भए गरेका सापेक्ष टिप्पणीको ´नमुना सर्वेक्षण`बाट प्रस्ट हुन्छ। नेपाली पत्रकारिताको 'चर्चाको शिखर'मा पुगेका विजयकुमार पाण्डे बारम्बार भनिरहन्छन्, 'आजको वैश्य युगमा मिडिया उद्योग चलाउनु र चप्पल कारखाना चलाउनुमा तात्त्विक फरक छैन।' पाण्डेले भन्ने गरेको ´वैश्य पत्रकारिता`को 'अडिटिङ' कसले गर्ने हो?

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले फागुन ९ गते एउटा आलेखमार्फत हाम्रो समाजको चरित्रमाथि टिप्पणी गरे। हाम्रो गठिलो समाज क्रमशः आक्रोशित र अराजक बन्दै जानुलाई चौहानले ´मास हिस्टेरिया`सँग दाँजे। तर चौहानको आलेखउपर सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू पढ्दा लाग्छ, मिडिया र पत्रकारप्रति समाजमा घोर असन्तुष्टि र आक्रोश छ।

पत्रकार शिव गाउँलेले कुनै सार्वजनिक मञ्चमा भनेका छन्, 'आफ्नो अनुहार/परिचय लुकाएर गर्ने स्वार्थ समूहको आलोचना र स्वतन्त्र प्रेसको मर्यादा र मानक वृद्धिका लागि गर्ने सचेत वर्गको आलोचनालाई अलगअलग बनाएर हेर्नुपर्छ।' 

गाली र निन्दालाई नजरअन्दाज गरिदिऊँ, हुन्छ। मिडियासँग जोडिएका, पत्रकारिता गरेरै कपाल फुलाएका, अध्यापनमार्फत सयौँ पत्रकारलाई दीक्षित बनाएका, अध्ययन र विश्लेषणमा ख्यातिनाम पात्रहरूले मिडिया र पत्रकारमाथि गरेका सभ्य आलोचनाको लेखा परीक्षण कसले गर्ने? राजनीतिक संक्रमण र भ्रष्टीकरणको भासबाट उम्कन नसकेको हाम्रो समाजका लागि मिडिया र पत्रकार 'समाचार संवाहक' मात्र होइन, पहरेदारी र खबरदारीका लागि ´वाच डग` पनि हुन्।

हाम्रो राजनीति भ्रष्ट छ, कर्मचारी प्रशासनमा भ्रष्टाचार व्याप्त छ, सेना/प्रहरीभित्र तमाम बेथिति छन्, शिक्षाको साख गिर्दो छ, समाजको गठिलोपन हराउँदै छ, अनि यही समाज र संरचनाको एउटा महत्त्वपूर्ण हिस्सा, एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालको मिडियाचाहिँ कमजोरीरहित होला र? 

´समाचार लेखेकै भरमा विरोध गर्ने?', 'स्वतन्त्र प्रेसको सम्मान नगर्ने?', ´चित्त नबुझे उजुरी गर्न प्रेस काउन्सिल छँदै छ नि!', 'मिडियाका हजार कमजोरी होलान्, तर छरपस्ट आलोचना गर्दा प्रेस स्वतन्त्रता र लोकतन्त्र कमजोर हुन्छ` भन्ने खालका टुक्के सफाइहरूबाट अलि माथि उठेर मिडियाको आलोचनाभित्र लुकेका ´अल्सर`को 'माइनर अप्रेसन' गर्नै पर्ने बेला भएको छ। अल्सरको उपचारमा लापरबाही गरे क्यान्सर हुने खतरा जो छ।

twitter: @Sshuvas