नेप्से ३.८१ अंकले घट्यो, १ अर्ब ३८ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.८१ अंकले ओरालो लागेर २०१९.७३ मा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक १.०८ अंकले ओरालो लागेर ३८१.९३ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।

कारोबार भएकामध्ये ८८ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ११८ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, १० उपसमूहको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। कूल ३९ लाख ४६ हजार २४ कित्ता सेयर एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ मूल्यमा खरिद बिक्री भएको छ।

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको सात करोड ५५ लाख ११ हजार ५८४ बराबरको कारोबार भयो।

यस्तै, शिवम् सिमेन्ट ६ करोड ५० लाख ६९ हजार ९८९, सानिमा माई हाइड्रोपावर ६ करोड ४६ लाख १३ हजार ९७७, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार ५७६ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार ८१९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, सिद्धार्थ इन्स्योरेन्स ६.१४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७६ प्रतिशतले कमाएका छन्।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स ३.८५, राप्ती हाइड्रो ३.८४, सामलिङ पावर ३.७९, तारागाउँ रिजेन्सी होटल ३.७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.२९ प्रतिशतले गुमाएका छन्।