इटालीको तटीय क्षेत्रमा डुंगा डुब्दा ५९ जनाको मृत्यु, कैयौँ बेपत्ता

भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।

तस्वीर एपी

इटालीको दक्षिणी तटीय क्षेत्र नजिकै आप्रवासी सवार डुंगा डुब्दा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको छ। केही मानिस बेपत्ता भएका छन्।

कालाब्रिया क्षेत्रको क्रोतोने शहर नजिकैको तटीय क्षेत्रमा डुंगा किनारा लगाउने क्रममा दुर्घटना भएको थियो। उद्धार गरिएका मानिसहरूलाई रेडक्रसको टोलीले सहायता गरिरहेको  बीबीसीले जनाएको छ। केहीलाई भने स्थानीय अस्पताल लगिएको छ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले आप्रवासीहरूको यो हविगत हुनुमा उनीहरूको जीवनसँग खेलबाड गर्ने दलालहरूको दोष रहेको आरोप लगाइन्। उनले भनिन्, “सुरक्षित यात्राको झुटो आश्वासनमा पुरुष, महिला र बालबालिकाको जीवनलाई टिकटसँग साट्ने कार्य अमानवीय हो।”

डुंगामा कति जना सवार थिए भन्ने यकिन छैन। तर उद्धारकर्ताहरूले डुंगामा २०० भन्दा बढी मानिस रहेको र ८० जनालाई सकुशल उद्धार गरिएको बताएका छन्। तर, डुंगामा सवार केही मानिसले डुंगामा १५० जना सवार रहेको बताएका छन्। यता, घटनास्थलको भ्रमणमा गएका इटलीका गृहमन्त्री मातेओ पियारतेदोसीले कम्तीमा ३० जना हराइरहेको बताएका छन्। अधिकांश आप्रवासी कठिनपूर्ण अवस्थामा भागेको बताएका छन्। अफ्रिकासहित धेरै मुलुकका मानिस गरिबी, असुरक्षा र द्वन्द्वका कारण आफ्नो देश छाडेर भाग्ने गरेका छन्।

अफगानिस्तान, पाकिस्तान, सोमालिया, इरान लगायत देशका नागरिकहरू सवार सो डुंगा धेरै दिन अघिदेखि टर्कीबाट इटालीको यात्रामा निस्किएको थियो।

प्रधानमन्त्री मेलोनीको दक्षिणपन्थी सरकारले तटीय क्षेत्रमा आप्रवासीको प्रवेश रोक्ने प्रतिबद्धता गरेको छ। हालै उद्धारका सम्बन्धमा पनि कडा नियम लागू गरेको छ। पूर्व अर्थमन्त्री कार्लो कालेन्दोले समुद्रमा कठिन अवस्थामा रहेका मानिसहरूको कुनै पनि हालतमा उद्धार हुनुपर्ने बताएका छन्। अवैधानिक रूपमा आप्रवासी भित्रिने मार्ग बन्द गर्न उनको माग छ।

यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लियनले पनि दुर्घटनाप्रति दुख व्यक्त गर्दै सोझा आप्रवासीहरूको जीवन नाश हुँदा पीडामा रहेको बताइन्। युरोपमा शरणार्थी शिविरको सुधार र यससम्बन्धी नियम बनाउन दोब्बर प्रयास आवश्यक रहेको उनको भनाइ छ। 

दुर्घटनामा ज्यान गुमाउने, बेपत्ता र सकुशल उद्धार भएका सबैका लागि प्रार्थना गरिरहेको आप्रवासीहरूको अधिकार रक्षाका लागि बोल्दै आएका पोप फ्रान्सिसले बताएका छन्। भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।