क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानका अध्यक्षले विधान उल्लंघन गरेको दाबी गर्दै राखेपलाई ७ केन्द्रीय सदस्यले पत्र बुझाएका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका सदस्यहरूलाई निलम्बन गर्न माग गर्दै सात जना केन्द्रीय सदस्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पत्र बुझाएका छन्।
क्यान केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, करण महतराज, सञ्जयराज सिंह, अमितवीर पाण्डे तथा राखेप प्रतिनिधि छुम्बी लामा र धर्मराज गिरीले पत्र आइतबार राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएका हुन्। पत्रका प्रदेश–१ क्रिकेट संघका अध्यक्ष मिङ्गमा डन्डु शेर्पा र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत र काठमाडौँ जिल्ला क्रिकेट संघका प्रतिनिधि दिवाकर घलेले पनि हस्ताक्षर गरेका छन्।
क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानको विधान उल्लंघन गरेको उनीहरूको दाबी छ। "केन्द्रीय कार्यसमितिका निर्वाचित उपाध्यक्ष राजुबाबु श्रेष्ठ र निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि उक्त रिक्त पदमा प्रशान्तविक्रम मल्ललाई क्यानको विधान २०५५ (तेस्रो संशोधन, २०७५) विपरीत कार्यवाहक सचिवमा पदपूर्ति गरिएको निवेदन गर्दछौँ," पत्रमा भनिएको छ, "नेपाल टी- २० लिगमा स्पट फिक्सिङको विवाद भएपछि कार्यवाहक सचिव मल्लले राजीनामा दिएपछि फेरि केन्द्रीय सदस्य दुर्गाराज पाठक नियुक्त गरेर अर्को विधान विपरीतको कदम चालेको छ।"
क्यानको विधानको दफा २८ (१) बमोजिम कुनै पद रिक्त भएको अवस्थामा पदपूर्ति गर्दा पूर्वपदाधिकारीलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पन सकिने व्यवस्था रहेको उनीहरूको जिकिर छ। तर, मल्ल र पाठक क्यान सदस्य मात्र रहेको र विधानको पदाधिकारीको परिभाषामा केन्द्रीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई मात्र पदाधिकारी मान्ने भएकाले उनीहरू नियुक्तिमा नपर्ने हुँदा उक्त पदपूर्ति प्रक्रियाविपरीत भएको उनीहरूको दाबी छ।
विगतमा पनि केन्द्रीय समितिमा सदस्य रहेका मल्ललाई कार्यवाहक सचिवमा नियुक्त गरिनु विधानविपरीत भएको विषयलाई नजर अन्दाज गरिएको र पुनः उक्त कार्य दोहोरिएको भन्दै ध्यानाकर्षण गराएका छन्। नेपाल टी–२० लिगको गभर्निङ काउन्सिलको संयोजक र क्यान कार्यसम्पादन समितिको सदस्य भएर काम गर्दा कार्यवाहक सचिव मल्लविरुद्ध स्पट फिक्सिङको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। राखेपद्वारा छानबिन गर्न गठन गरेको कार्यदलले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ विपरीत भारतीय कम्पनीसँग नेपाल टी-२० लिगका लागि सम्झौता गरेको ठहर गरेपछि उनले राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त पदमा पाठकलाई नियुक्ति गरिएको थियो।
नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङमा कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चन्द, तत्कालीन कार्यवाहक सचिव मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय पाठक र पदम खड्का एवं टुर्नामेन्ट डाइरेक्टर वृत्तान्त खनाल मुख्य दोषी रहेको उनीहरूको दाबी छ। क्यानको विधान २०५५ (तेस्रो संशोधन २०७५) को दफा २७ (ख) बमोजिम सम्बन्धित सरकारी निकायले कुनै सदस्यविरुद्ध आर्थिक हिनामिना वा भ्रष्टाचार लगायत फौजदारी मुद्दाको सम्बन्धमा अनुसन्धान शुरू गरेमा सम्बन्धित सदस्य छानबिन र अदालत सुनुवाइको प्रक्रियाको अवधिसम्मका लागि निलम्बन गरिने प्रावधान रहेको उनीहरूले राखेपलाई स्मरण गरेका छन्।
"विगतको कार्यवाहक सचिव नियुक्ति प्रक्रिया एवं छानबिन प्रक्रियाको अवधिमा कार्यसमितिका पदाधिकारी र सदस्य निलम्बन हुने प्रावधानसमेत कार्यान्वयन नभएको र यी सबै प्रक्रिया विधानसम्मत नरहेको देखिएकाले के कस्तो आधारमा उक्त पदपूर्ति प्रक्रिया अघि बढेको हो र फिक्सिङजस्तो गम्भीर फौजदारी अपराधमा मुछिएका तथा ऐनविपरीत सम्झौता गर्ने तथा पटक पटक स्वेच्छाचारी रूपमा निर्णय गर्ने कार्यसम्पादन समितिका सदस्यलगायत टुर्नामेन्ट डाइरेक्टरलाई निलम्बन नगर्नुको कारण खुलाइदिन हुन निवेदन छ," पत्रमा भनिएको छ।
क्यानको वार्षिक साधारण सभा आइतबारदेखि सुर्खेतमा शुरू भएको छ। तर, उक्त साधारण सभामा सात केन्द्रीय सदस्यसहित बस्नेत, शेर्पा र घलेले भाग लिएका छैनन्। यसअघि पनि उनीहरूले अध्यक्ष चन्दसहितका पदाधिकारीको राजीनामा माग गर्दै पोखरामा भएको बोर्ड बैठक बहिष्कार गरेका थिए।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
