प्रकाश ज्वालाको दाबी : राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ

प्रमुख सचेतक ज्वालाले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उल्लेख गरे।

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गरेका छन्।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित आठ दलहरूको साझा उम्मेदवारका रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको तर्कसमेत गरे।

शनिबार अपराह्न राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकताबद्ध हुँदा नेकपा एमाले भने एक्लिएको बताए।

“ओलीले जे भन्नु हुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ । नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो। किनकि आज उहाँ एक्लै हुनुहुन्छ। उहाँको उम्मेदवारको पक्षमा अरू दलहरू कोही पनि छैनन्,“ उनले भने।

प्रमुख सचेतक ज्वालाले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उल्लेख गरे। उनले आठ राजनीतिक दलहरूबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए। “यहाँबाट शुरू भएको यात्रा अब सरकार निर्माण, राष्ट्र निर्माण, जनताको निम्ति काम गर्ने सवालमा पनि त्यही ढंगले अगाडि बढ्छ” उनले भने।

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरू जति धेरै एकताबद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरू नयाँ शिराबाट अघि बढ्न थालेको बताए। “जति धेरै राजनीतिक दलहरू एकताबद्ध हुन्छन्। त्यतिबेला राष्ट्र झन् एकताबद्ध हुन्छ। त्यसले चाहिँ राजनीतिक अस्थिरता होइन, स्थिरता ल्याउँछ,“ उनले भने।