नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य, अर्जुन र देवको शतक

अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ।

काठमाडौँ– नेपालले नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा कुवेतलाई ३४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार यूएईको  मालेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो।

नेपालका लागि अर्जुन कुमाल र देव खनालले शतक बनाए। १०८ रन बनाएर आउट भएका कुमालले ११२ बलमा १२ चौका प्रहार गरे।

त्यस्तै, ११७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्काको सहयोगमा १२५ रन बनाएर आउट भए। विशालविक्रम केसीले २३ र दीपक बोहराले १९ रनको योगदान दिए। 

शुक्रबार सम्पन्न पहिलो खेलमा आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकको सहयोगमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।