ढोरपाटन- बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’। चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ।
सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ। तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ। आधुनिक गीत संगीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन्।
यो नाच समूहमा नाचिने गरिन्छ। नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ। जसले महिलाको पहिरन गरेर नाच्छ। समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरूसँगै गाउने र नाच्ने गर्छन्। एक दशक अगाडिसम्म बागलुङ पश्चिमका ग्रामीण भेग तिहारको बेला निकै रमाइलो हुने गर्थ्यो। जताततै सोरठी नाच्ने र गाउनेहरू भेटिन्थे। अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ।
बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्नु हुँदैनथ्यो। आफ्नो हात खुट्टा चल्न थालेपछि उनले नाच्न छोड्नु भयो। नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उनी चिन्तित छन्।
“हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खाजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन्।”
नाच लोप हुने डरले उनीलाई पिरोली रहन्छ। बाउ, बाजे र काकाबाट नाच्न सिक्नुभएका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच सङ्कटमा परेको बताउँछन्। “हामीपछिका भाइहरूले त अहिले पनि नाच्दैछन्, अब उनीहरूले पनि दुई/चार वर्षपछि नाच्न सक्दैनन्, उतिबेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरूले भाइहरूलाई सिकाइयो, तर अहिलेका जवानले चासो दिँदैनन्, हराउने भयो अब यो नावच”, बुढाले भने।
पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला–३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताए। पुनले आफूले १०/१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताए। उनले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने बताउँछन्।
“जमाना फेरिए अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नन्, के–के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत संगीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्”, उनले भने, “हामी मरेपछि पुराना संस्कृति पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुर्खौंसम्म पनि जीवित रहने थिए।”
मौलिक संस्कृतिमध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवापुस्ता नै जागरुक हुनुपर्ने पुनले बताए। उनले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिनसके यस्ता संस्कृति युगौँसम्म संरक्षण गर्न नसकिने बताउँछन्। पुनले भने, “मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बोको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ।”
निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउँछन्। केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने बताउँछन्।
“अहिले बूढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानले भेट्दैन, हात खुट्टाले पनि धोका दियो, बैसमा मेला पर्व शुरू भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरू गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरू कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्नेजस्ता गीतहरू गाउँछन्, आफन्तसँग बसेर हेर्नै नमिल्ने गरी नाँच्छन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ”, उनले भने।
अहिले गाउँ सहरमा बूढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय प्रेम काउचाले बताए। उनले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उनी स्वीकार गर्छन्।
“हामी १५/१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरूले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बूढापाका अग्रजसँग सिक्ने अवसर छ, हामीहरूले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो”, उनले भने, “मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरिरहेको छ, नयाँ संस्कृतिलाई अंगाल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ।”
काउचाले पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने र बजारमा आधुनिक किसिमका गीत संगीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्। उनले तिहारमा समेत विद्यार्थी, विभिन्न सङ्घसंस्था र स्थानीय पनि आधुनिक गीत संगीत बजाएर नाच्न थालेका बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
