पूर्वन्यायाधीशलाई राष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एशोसिएशनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।

काठमाडौँ- संविधानले अनुमति दिए भन्दा बाहिर गएर पूर्व न्यायाधीश वा पूर्व प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन सर्वोच्च बार एशोसिएशनले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। 

सर्वोच्च अदालत बार एसोसिएसन आज बुधबार पत्रकार सम्मेलन गर्दै  संविधानले अनुमति दिएकोभन्दा बाहिरको गएर पूर्व न्यायाधीश वा प्रधान न्यायाधीशलाई राष्ट्रपति र उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिएको हो।

ʺनिर्वाचन ऐनमा लाभको पदमा बहाल नरहेको व्यक्ति मात्र उम्मेदवार हुन पाउँछ। पेन्सन होल्डर हुन पाउँदैन। पूर्व न्यायाधीश वा पूर्व प्रधानन्यायाधीश मानवअधिकार आयोगबाहेकमा अन्यत्र नियुक्ति हुन पाउँदैनन्”, बारले भनेको छ, ʺसहमतिको नाममा संविधानले नै अयोग्य ठहराएको भनेर निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छौँ।ʺ

त्यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीश शीघ्र नियुक्ति गर्न आग्रह गर्दै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानूनमन्त्री ध्रुव बहादुर प्रधानलाई भेटेको जानकारी बारले दिएको छ। बारले भनेको छ, “१ वर्षदेखि प्रधानन्यायाधीशको नियुक्ति भएको छैन। हामीले कानूनमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्‍यौँ तर काम शुरू भएको केही लक्षण छिटफुट देखिको छैन। त्यसैले शीघ्रातिशीघ्र काम अगाडि बढाउन आग्रह गरेका छौँ ।ʺ