लघुवित्तका समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भीर भएर लागेको बताएका छन्।

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन्। 

बुधवार प्रतिनिधिसभाको बैठकपश्चात् संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। 

उनले लघुवित्तमा देखिएका समस्या समाधानको लागि सरकार गम्भीर रूपमा सरोकारवालासँग छलफल गरिरहेको बताए। 

अर्थमन्त्री पौडेलले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको बताए। लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरूले काम थालनी गरेको उनले जानकारी दिए। 

उनले लघुवित्तका समस्या चाँडै समाधान गर्न सरकार लागेको जिकिर गरे। 

उनले भने, “लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन। यो विषयमा गम्भीर भएर सरोकारवालासहित बैठक बसेका छौँ। केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ। लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ, त्यसलाई समस्या आउनुको कारण खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरू लागि सकेका छन्।”

उनले सरकारका नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाएको बताए।