बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले लघुवित्तका कारण कयौँ गरिब जनतामाथि उठ्न नसक्नेगरी थला परेको बताएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरिवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे। 

थापाले लघुवित्तका कारण मर्कामा परेकालाई बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए। उनले लघुवित्तका कारण कयौँ गरिब जनतामाथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे। 

उनले लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरिवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको  बताए। 

त्यस्तै, उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरिवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गरे। 

उनले भने, “अति न्यून आय भएका गरिबीको आहालबाट निकाल्नको लागि काम होला भनेको गरिब उठ्न नसक्ने गरी थला पर्न बाध्य भएका छन्। अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था र तत्कालको गर्जो टार्न जस्तो पनि ऋण लिने ग्राहक तथा अनुमति लिँदै गर्दा हात फैल्याउने र सुपरिवेक्षण गर्दैगर्दा मुठी कस्ने राष्ट्र बैंकको कारणले लघुवित्तको समस्या देखिएको हो।”

उनले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिवेक्षण कार्य र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताए।