माओवादी महासचिव गुरुङ भन्छन्– ‘एमालेको सिफारिस मान्नैपर्ने बाध्यता छैन’

राष्ट्रपतिमा संविधान, राष्ट्रियता, गणतन्त्रको पक्षमा भूमिका निर्वाह गर्ने व्यक्ति चाहिएको माओवादी महासचिव गुरुङको भनाइ छ।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दलविशेषबाट राष्ट्रपति बनाउनेबारे संविधानमा उल्लेख नभएको भन्दै एमालेले गरेको सिफारिस मान्नैपर्ने बाध्यता नभएको प्रतिक्रिया दिएका छन्। पदाधिकारी बैठकअघि पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

“संविधानको भावना र मर्मअनुसार काम गर्ने, राष्ट्रिय एकताको प्रतीकका रूपमा संविधानले परिकल्पना गरेको व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनिरहेका छौँ”, उनले भने, “दलविशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने संविधानमा कहीँ लेखिएको छैन। संविधानको भावनाअनुसार जानुपर्छ राष्ट्रपति नै संविधानको रक्षक हो।”

उनले ‘साझा सहमति बन्ने पात्र जसले सिफारिस गर्छ, त्यही व्यक्ति’ राष्ट्रपतिको उम्मेदवार बन्ने बताए। राष्ट्रपतिमा संविधान, राष्ट्रियता, गणतन्त्रको पक्षमा भूमिका निर्वाह गर्ने व्यक्ति चाहिएको उनको भनाइ छ।

राष्ट्रपतिको निर्वाचन सत्तागठबन्धनसँग जोडिएको विषय नै नभएको भन्दै उनले सत्तापक्ष र विपक्ष भनेर भनिरहनु आवश्यक नभएको प्रष्ट पारे। माओवादीको पदाधिकारी बैठकले राष्ट्रपतिका सम्बन्धमा आवश्यक निर्णय लिने बताइएको छ।