आममाफी पाएका सांसद अरुण चौधरी रिहा

मंसिर ४ को निर्वाचनमा कैलाली–२ बाट निर्वाचित चौधरी माघ १९ मा पक्राउ परेका थिए। 

तस्वीर : रन्जीता श्रेष्ठ चौधरीको फेसबुक

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन्।

सरकारको सिफारिसपछि राष्ट्रपति भण्डारीले चौधरीलाई आममाफी दिएकी थिइन्। धनगढी कारागारबाट आइतबार रिहा भएका चौधरीलाई नागरिक उन्मुक्तिका अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीलगायतले स्वागत गरेका छन्।

उनलाई प्रजातन्त्र दिवसका अवसरमा माफी दिइएको हो। मंसिर ४ को निर्वाचनमा कैलाली–२ बाट निर्वाचित चौधरी माघ १९ मा पक्राउ परेका थिए। आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय सुनाएको थियो। रिहा भएपछि चौधरीले सरकार र राष्ट्रपतिलाई धन्यवाद दिए।

आफूलाई राजनीतिक प्रतिशोधका लागि जेल हालिएको उनको प्रतिक्रिया छ।